कालीगण्डकीमा हाम फालेको आशंकामा आमा र छोराको खोजी

काठमाडौं । स्याङ्जाको कालीगण्डकी नदीमा महिला र उनको ६ वर्षीय छोरा बेपत्ता भएकाे आशंका गरिएको छ । नदी किनारमा उनीहरूका सामान फेला परेपछि दुवै जना नदीमा बेपत्ता भएको हुन सक्ने गम्भीर आशंकामा सशस्त्र प्रहरीले खोजी कार्यलाई तीव्र पारेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, गल्याङ नगरपालिका-५ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारको प्रतीक्षालयमा एक महिलाले बोक्ने झोला, चप्पल, मोबाइल फोन र बच्चाको जुत्ता बेवारिसे अवस्थामा फेला परेको थियो । मंगलबार साँझदेखि ती सामानहरू त्यहाँ देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अनुसन्धानका क्रममा ती सामान कालीगण्डकी गाउँपालिका-४ बिर्घा निवासी २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको रहेको खुलेको हो । उनीहरू सम्पर्कमा नरहेकाले नदीमै बेपत्ता भएको हुन सक्ने आशंकामा खोजी केन्द्रित गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनाको जानकारी पाएसँगै बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल, नेपालको ३० नम्बर गुल्म, स्याङ्जाबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरी नदी किनार र सम्भावित क्षेत्रहरूमा खोजी कार्य जारी राखिएको छ ।
बेपत्ताहरूको अवस्था पत्ता लगाउन कठिन भएपछि पोखराबाट विशेषज्ञ गोताखोरको टोली समेत घटनास्थलतर्फ लैजाने तयारी भइरहेको थापाले बताए । घटनाले बिर्घा गाउँ र सेतीवेणी क्षेत्र शोकमा डुबेको छ ।








