माओवादीसहितका नौ राजनीतिक दलहरुले स्वमूल्यांकन कार्यविधिमाथि संयुक्त रुपमा विरोध गर्ने

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले बाहेकका संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलहरुले निर्वाचन आयोगले ल्याएको स्वमूल्यांकन कार्यविधि, २०८२ को लिखित रुपमा संयुक्त विरोध जनाउने निर्णय गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरुले यस्तो निर्णय गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन आयोगले पठाएको स्वमूल्यांकन कार्यविधिको बिहीवार अन्तिम मिति रहेको र त्यसका लागि नौ राजनीतिक दलहरुले लिखित असहमति जनाउने निर्णय भएको बताए ।

यो संविधान, राजनीतिक दल सम्बन्धी ऐनको विपरित रहेको उनको भनाइ छ । ‘यहाँ आज ९ वटा राजनीतिक दलहरु उपस्थित भएर निर्वाचन आयोगले स्वमूल्यांकन कार्यविधि,२०८२ भनेर पठाएको छ । भोलि अन्तिम मिति छ । यो संविधान, राजनीतिक दल सम्बन्धी ऐनको विपरित र उसँग ऐन बनाउने अधिकार छैन, निर्वाचन आयोगसँग । यो ऐनकै ढाँचामा हामीलाई नियन्त्रण गर्नेगरी अझ दुई पार्टीमात्रै बाँचे हुन्छ अरु सबै पार्टी समाप्त गर्ने भन्ने अभिप्रायले आएको छ । यसको हामी सबैले संयुक्त रुपमा लिखित रुमपा विरोध गरेका छौँ’ उनले भने ।

निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै बुधवार काँग्रेस–एमाले बाहेकका दलहरू छलफलमा जुटेका हुन् ।

बैठकमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =