सरकारलाई सांसद बाँस्कोटाको प्रश्नः संविधान संशोधनको विषय कहाँ पुग्यो ?

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले अहिले दलहरुले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताए ।
बाँस्कोटाले संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बताए ।
उनले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।
उनले नयाँ राजनीतिक दलहरु लोकप्रियतावादमा लागेको आरो लगाए । उनले संसद बहिस्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउन भुमिका खेल्न समेत आग्रह गरे ।








