बजाजको इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौँको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै कम्पनीले ‘चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाका अनुसार यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै सजिलै नियन्त्रण गर्न सकिन्छ । यस एप मार्फत स्कुटरको लोकेसन आफ्नो फोनमा हेर्न सकिन्छ भने पार्किङ गर्दा स्कुटर ढल्यो भने पनि मोबाइलमा नोटिफिकेसन आउँछ । जसमा स्पिड लक र ओभर स्पिड अलर्ट नोटिफिकेसन पनि आउँछ ।
उनले भने ‘मानौँ, तपाईँको छोरा छोरीले स्कुटर चलाउनु भयो, तपाईँले स्पिड लक राख्न सक्नुहुन्छ । मोबाइलबाट कन्ट्रोल गर्न सक्नुहुन्छ ।’

निर्देशक गोल्छाले चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर रहेको बताए । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौँ, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो । हामीले नेपालको लागि उपयुक्त एउटा इभि खोजिरहेका थियौँ । र हामीलाई लाग्छ कि फाइनल्ली एउटा सही उत्तर भेटिएको छ ।’
चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ ।
यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

निर्देशक गोल्छाले काठमाडौँ उपत्यकामा २१ ओटा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बाटोमा गुड्दा गुड्दै स्कुटरमा समस्या आएमा वा बिग्रिएमा कम्पनीको भ्यान आएर सहयोग गर्ने बताए । उनले उक्त सुविधा २४ सैँ घण्टा दिइने बताए । साथै कम्पनीले ब्याट्रीलाई पनि रिसाइकल गर्ने सुविधा ल्याएको जानकारी दिए ।
उनले भने ‘हामीले काठमाडौँ भ्यालीमा २१ ओटा चार्जिङ स्टेसन बनाएका छौँ । जतिपनि बजाजको शोरुम र सर्भिस सेन्टर छ त्यहाँ चेतनको चार्जिङ स्टेसन आइसकेको छ । यस बाहेक हामीले होम चार्जिङको पनि सुविधा दिएका छौँ । बाटोमा कहीँ कतै बिग्रियो वा ब्याट्री सकियो भने हाम्रो भ्यान आएर सहयोग गर्छ । २४ सै घण्टा फोन कल तपाईँले गर्न सक्नुहुन्छ ।’
नेपालमा चेतक स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको छ । कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ ।









