रबिन्द्रले रचे इतिहास : बने एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाली व्यावसायिक मिक्स मार्सल आर्ट्स (एमएमए) ले शनिबार राति एक ऐतिहासिक स्वर्ण अक्षर कोरेको छ । नेपाली फाइटर रबिन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७’ को उपाधि जितेर इतिहास रचेका हुन् ।

उनले फाइनलमा बलिया भारतीय प्रतिद्वन्द्वी चुनरेङ कोरेनलाई प्राविधिक नकआउटको आधारमा पराजित गर्दै बान्टमवेट च्याम्पियनसिपको बेल्ट आफ्नो नाममा गरे । यो जितसँगै रबिन्द्र एमएफएन जस्तो व्यावसायिक अन्तर्राष्ट्रिय प्लेटफर्ममा उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आफ्नो आक्रामक रेसलिङ र शक्तिका लागि ‘दि इन्डियन राइनो’ उपनामले चिनिने कोरेनले खेलको सुरुवातमा रबिन्द्रमाथि दबाब बनाउने प्रयास गरेका थिए । तर, रबिन्द्रले संयमित र रणनीतिक रक्षात्मक खेल प्रदर्शन गर्दै कोरेनका हरेक प्रयासलाई निस्तेज पारे ।

खेलको निर्णायक मोड तेस्रो राउन्डमा आयो । रबिन्द्रले अचानक आफ्नो गति बढाउँदै लगातार शक्तिशाली प्रहारको वर्षा गरे, जसले कोरेनलाई संकटमा पार्‍यो । अन्ततः निर्णायक प्रहारपछि रेफ्रीले खेल रोक्न बाध्य भए र रबिन्द्रलाई विजेता घोषित गरे । यो प्रभावशाली जितले रबिन्द्रको व्यावसायिक रेकर्ड ८ जित र १ हारमा पुगेको छ । अर्कोतर्फ, यो हारसँगै कोरेनको पाँच खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । रबिन्द्रको जितसँगै रंगशालामा नेपाली समर्थकहरूको उत्साहको सीमा रहेन । उनले गर्वका साथ नेपालको झन्डा काँधमा फहराउँदाको क्षण ऐतिहासिक र अविस्मरणीय थियो ।

रबिन्द्रको यो ऐतिहासिक सफलताप्रति प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । उनले फेसबुक पेजमा लेखेका छन्, ‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =