पनडुब्बी तैनाथ गर्ने ट्रम्पको निर्णयपछि रुस-अमेरिका वाकयुद्ध चर्कियो

काठमाडौं । अमेरिका र रुसबीचको तनाव पुन: उत्कर्षमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको निकटमा दुई परमाणु पनडुब्बी तैनाथ गर्ने आदेश दिएपछि दुई शक्तिराष्ट्रबीच वाकयुद्ध चर्किएको हो ।

यस घटनाले विश्वको ध्यान तानेको छ भने दुई देशबीचको सम्बन्ध थप जटिल बनेको छ । आफ्नो निर्णयको बचाउ गर्दै राष्ट्रपति ट्रम्पले यसलाई राष्ट्रिय सुरक्षाका लागि चालिएको एक आवश्यक कदमको रूपमा व्याख्या गरेका छन् । ‘हामीलाई धम्की दिइएको थियो, जुन हामीलाई उचित लागेन । त्यसैले मैले सावधान हुनुपरेको छ,’ ट्रम्पले भने, ‘म यो मेरो जनताको सुरक्षाका निम्ति गरिरहेको छु । जब परमाणु शक्तिको कुरा आउँछ, हामी तयार हुनुपर्छ ।’

ट्रम्पको यो कदमको रुसले कडा शब्दमा जवाफ फर्काएको छ । रुसी सांसद भिक्टर भोडोलात्स्कीले अमेरिकी कदमलाई सामान्य भन्दै आफ्नो देश पनि पूर्ण तयारी अवस्थामा रहेको बताए । उनले भने, ‘विश्वका महासागरहरूमा रुसका परमाणु पनडुब्बीहरूको संख्या अमेरिकाको भन्दा धेरै छ । ट्रम्पले पठाएका ती दुई पनडुब्बी पहिलेदेखि नै हाम्रो निसानामा छन्, त्यसैले यसमा छुट्टै प्रतिक्रिया दिनु आवश्यक छैन ।’

पनडुब्बी तैनाथको यो निर्णय हालै ट्रम्प र रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभबीच चलेको तिखो वाकयुद्धको परिणाम हो । ट्रम्पले मेदभेदेभलाई एक ‘असफल पूर्वराष्ट्रपति’ को संज्ञा दिएपछि विवाद चर्किएको थियो । त्यसको जवाफमा मेदभेदेभले ट्रम्पलाई कडा चेतावनी दिँदै भनेका थिए, ‘ट्रम्प रुससँग अल्टिमेटमको खेल खेलिरहेका छन् । उनले यो बुझ्नुपर्छ कि रुस न त इजरायल हो, न इरान । प्रत्येक नयाँ अल्टिमेटमले युद्धतर्फ एक कदम अघि बढाउँछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =