विजय बराल र प्रोसेस पाण्डेको मनछुने संवाद र गायकी (भिडिओ)

काठमाडौं । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’ दर्शकमाझ व्यग्र प्रतीक्षाको सिनेमा बनेको छ । निर्माण टिमले प्रचारप्रसारलाई पनि तीव्र पारेको छ । यसै सिलसिलामा चलचित्रका मुख्य अभिनेता विजय बराल र गीतमा स्वर दिएका गायक प्रोसेस पाण्डे एक विशेष संवादमा बस्दा चलचित्रको मर्म र सम्बन्धका कथाहरू प्रस्तुत भएका छन् । ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ का विजेता पाण्डेले चलचित्रका लागि गाएको गीत र अभिनेता बरालले आफ्नो पात्र र जीवनसँग जोडेर व्यक्त गरेका अनुभवले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता बढाएको छ ।
चलचित्रका एसोसिएट निर्देशक मनिष राउतसँगको कुराकानीमा गायक पाण्डेले चलचित्रको एक मार्मिक गीतको अंश गाएर सुनाएका थिए, जसले कार्यक्रमको माहोललाई नै भावुक बनायो । ‘ए बाबा, म कमाएर घर नफर्किँदा सम्म, तिमी बुढो नहुनु है…’ जस्ता शब्दले भरिएको गीतले विदेशिन बाध्य छोरा र गाउँमा उसलाई पर्खिरहेको बाबुबीचको सम्बन्धलाई चित्रण गर्छ । यो गीत चलचित्रको कथाको एउटा महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ । रियालिटी शो जितेपछिको यो आफ्नो पहिलो महत्वपूर्ण फिल्मी ‘प्लेब्याक’ भएको बताउँदै पाण्डेले ऐतिहासिक कलाकारले अभिनय गर्ने चलचित्रमा जोडिन पाउनुलाई ठूलो अवसरको रूपमा लिएको बताए ।
अभिनेता विजय बरालले चलचित्रको शीर्षकले नै सम्बन्धको कथा बोकेको बताए । उनले भने, ‘सम्बन्धका कथाहरू कहिल्यै पुराना हुँदैनन् । यो चलचित्रले पनि आमा-छोरा, दिदी-भाइ, मामा-भान्जी जस्ता अनेकौं सम्बन्धका धागाहरूलाई उनेको छ ।’ आफ्नो १७ वर्षे अभिनय यात्राको स्मरण गर्दै बरालले अहिले पाएको सफलतालाई सपनाको एक चरण पूरा भएको रूपमा लिएको बताए । उनले भने, ‘जुन फिल्डमा जे गर्छु भनेर सपना देखेको थिएँ, त्यो फिल्डमा एउटा नाम र दर्शकसम्मको पहुँच बनेको छ । यो सपनाको एक चरण हो ।’ उनले नयाँ पुस्तालाई सपना देख्न र त्यसलाई पूरा गर्न निरन्तरको तयारी र मेहनतमा लाग्न आग्रह गरे ।
चलचित्रको कथा एक साधारण व्यक्तिले विदेश जाने सपना देख्दा उसको सम्बन्धमा आउने उतारचढावमा केन्द्रित छ । पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर गाउँबाट सहर पसेको सीताराम (विजय बराल) को जीवन संघर्ष, नयाँ प्रेमको उदय र पारिवारिक द्वन्द्वलाई चलचित्रले मार्मिक रूपमा प्रस्तुत गरेको छ । टिजरमा अभिनेत्री केकी अधिकारी र मिरुना मगरसँग विजयको त्रिकोणात्मक प्रेमको द्वन्द्वलाई पनि संकेत गरिएको छ ।
हिमाल न्यौपानेद्वारा निर्देशित यो चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रमा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको यो चलचित्रले ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराललाई पुनः एकपटक मुख्य भूमिकामा प्रस्तुत गर्दैछ ।








