मुलुकलाई लागुऔषधमुक्त बनाऔँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरो कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतीका रुपमा देखिएको बताए ।

‘लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ । हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ’ उनले भने ‘यो अभियानमा आमनागरिकसहित सबैको सहकार्य आवश्यक छ ।’

विगत वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा प्रगति भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने ‘आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्ने गरी अगाडि बढ्नुपर्छ । स्रोतसाधनको कमी भएपनि धेरै काम गर्न सक्यौँ । त्यो यो एक वर्षमा देखिएको छ’ उनले भने । लागुऔषधको बिगबिगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सरकार सशक्त भएर लाग्ने बताए ।

‘युवामा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवाशक्ति लागुऔषधमा फसेको छ’, गृहमन्त्री लेखकले भने ‘लागुऔषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागुऔषध अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागुऔषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै नागरिकको जिम्मेवारी हो ।’

गृहमन्त्री लेखकले लागुऔषध ब्युरोलाई विभागकै रुपमा विकास गरिने बताए । ‘ब्युरोलाई विभागका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ’ उनले भने । लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्न तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापासहित प्रहरी प्रधान कार्यालयलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापाले लागुऔषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्री लेखकको प्रस्ताव सराहनीय रहेको बताए । उनले लामो समयदेखि नेपाल प्रहरी लागुऔषध नियन्त्रणमा मुलुकभर सक्रिय रहेको जानकारी दिए ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङ, लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतको समेत सो अवसरमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =