पल्सर स्पोर्टस अवार्डको प्रवर्द्धकमा पोखरा महानगरपालिका

काठमाडौं । पहिलोपल्ट मोफसलमा आयोजना हुन लागेको नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २२ औं संस्करणमा पोखरा महानगरपालिका प्रवद्र्धकको रूपमा रहने भएको छ ।

२०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड पहिलोपल्ट उपत्यका बाहिर आयोजना हुने तयारीमा छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले यसअघि नै आगामी भदौ २९ गते पोखरामा यस संस्करण हुने बताएको थियो ।

बुधवार नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवद्र्धनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा मञ्चका तर्पmबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे । पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा उक्त अवार्ड हुँदैछ ।

पोखरा महानगरपालिका मेयर आचार्यले अवार्डका लागि महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने बताए । पोखरा देशकै ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर रहेको हुँदा प्रतिष्ठित खेलकुद अवार्ड यस ठाउँमा आयोजना गर्न प्रोत्साहित गरिएको उनको भनाइ छ ।

यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मेयर आचार्यको विश्वास छ ।

पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरु हुने गरेको उल्लेख गर्दै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए ।

मञ्चका अध्यक्ष अधिकारीले काठमाडौंबाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहे पनि अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने चुनौती स्वीकार गरेको बताए ।

एनएसजेएफ पल्सर स्पोटर््स अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआइपिएस एशिया) को नियमित क्यालेन्डर इभेन्ट पनि हो ।

एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निक्कै उत्साहका साथ लिएको बताए ।

अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन् ।

उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =