पाँच वर्षको तथ्यांक : बर्सेनि बढ्दैछ विपद्को कहर, कहाँ चुक्यो सरकार ?

काठमाडौँ । गत असार २३ मा रसुवामा एक्कासि आएको बाढीले ठुलो जनधनको क्षति भएको थियो । चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका थिए । जसमा छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी र पाँच नेपाली कामदार थिए ।
गत असार २३ गते केरुङबाट सामान लिई फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बततर्फ नै थन्किएका थिए । ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुबानमा परे ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइका अनुसार नेपालतर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाडौँ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको ६ वटा ठुला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको छ ।
बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सनको एक टिफर, सिमेन्ट घोल्ने एक मिक्स्चर, एक स्काभेटर, एक रोलर र एक हाइलक्स जिप समेत बगाएको छ ।
स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड बाढीले ध्वस्त भएपछि पूर्ण रूपमा सडक अवरुद्ध भई त्यस क्षेत्रको जनजीवन समेत सुनसान बनेको थियो ।
दुर्भाग्यवश, रसुवा बाढी त एउटा प्रतिनिधि घटना मात्र हो । नेपालमा प्राकृतिक विपद्का कारण बर्सेनि ठुलो धन-जनको क्षति हुने गरेको छ ।
नेपालमा बर्सेनि विपद्का घटना बढ्दै

नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङ्क अनुसार आ.व २०७६/७७ मा आगलागी, बाढी, पहिरो, चट्याङ, हिमपात र अविरल वर्षा जस्ता विभिन्न ३ हजार ३ सय ७८ वटा विपद्का घटना भएका थिए । जसमा परि ३ सय ७० जनाको मृत्यु भएको थियो भने १ हजार १ सय १८ जना घाइते र ५३ जना बेपत्ता भए ।
सो वर्षमा २ अर्ब ३७ करोड ७३ लाख ९ हजार ९ सय ९० रुपैयाँको क्षति भयो ।
- आ.व २०७७/७८ मा ५ हजार ४० वटा विपद्का घटना भए । सो आ.व २०७६/७७ को तुलनामा १६६२ संख्याले बढी हो । सो वर्षमा ५०७ जनाको मृत्यु, १०७७ जना घाइते र ९४ जना बेपत्ता भए ।
- आ.व २०७८/७९ मा ४९३१ वटा विपद्का घटनामा ४७७ जनाको मृत्यु, १०३१ जना घाइते र ४९ जना बेपत्ता भए ।
- आ.व २०७९/८० मा जम्मा ५९४२ वटा घटना संख्या, ३५७ जनाको मृत्यु र ११७० जना मानिसहरू घाइते र ६९ जना बेपत्ता भए ।
- आ.व २०८०/८१ मा ८९७३ वटा विपद्का घटना भएका थिए । यो आ.व २०७९/८० को तुलनामा ३०३१ संख्याले बढी हो । साथै यस वर्ष ५ सय ७५ जनाको मृत्यु, १८३० जना घाइते र १७ जना बेपत्ता भए ।
- आव २०८१/८२ को जेठसम्ममा ९०९९ वटा घटना संख्या भए । यो आ.व २०८०/८१ को तुलनामा १२६ संख्याले बढी देखिन्छ । यस वर्षमा ६१३ जनाको मृत्यु, १७०३ जना घाइते हुनुका साथै ३२ जना बेपत्ता भएका छन् ।
साथै ११ अर्ब ५० करोड ६० लाख १ हजार ९२४ रुपैयाँ को क्षति भयो । यसरी बर्सेनि नेपालमा विपद्का घटना बढ्दै गएको तथ्यांकले देखाएको छ ।

गत ५ वर्षमा ठुलो धनजनको क्षति
नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्याङ्क अनुसार आ.व २०७६/७७ देखि ०८१/८२ जेठ सम्ममा आगलागी, बाढी, पहिरो, चट्याङ, हिमपात र अविरल वर्षा जस्ता विपद्का कारण ३७,३६३ वटा घटना भएका थिए ।
जसमा २ हजार ९ सय ९ जना मानिसहरूले ज्यान गुमाएका छन् । त्यस्तै ७ हजार ९ सय २९ जना घाइते भए भने ३ सय १४ जना बेपत्ता भए ।
जसकारण गत ५ वर्षमा २९ हजार ७ सय ३५ जना विस्थापित भएका छन् । त्यस्तै नेपालका विभिन्न स्थानमा रहेका ३९ हजार ८ सय ३३ घरमा क्षति भएको छ ।
जसमा १२६ उद्योग, ४१५ विद्यालय, ३०५ सरकारी कार्यालय र १८५ ओटा पुलहरूको क्षति भयो । उक्त पाँच वर्षको अवधिमा त्यस्ता प्राकृतिक विपद्हरूका कारण जम्मा २९ अर्ब ३८ करोड ५७ लाख १६ हजार ६ सय ६४ रुपैयाँ (२९,३८,५७,१६,६६४) को आर्थिक क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।
के गर्दै छ सरकार ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनको असर नेपालका विभिन्न क्षेत्रहरूमा प्रत्यक्ष देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले रसुवागढीमा हालै भएको घटना जलवायु परिवर्तनका कारण हिमताल विस्फोट हुँदाको परिणाम भएको बताएका छन् ।
सभापति देउवाले नेपालमा जलवायु परिवर्तनको असर डरलाग्दो बनेको भन्दै यसका असर कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताए ।
सङ्घीय संसद् राष्ट्रियसभाको हिजो (मङ्गलवार) को बैठकमा सांसद मायाप्रसाद शर्माले वर्षायाम र बाढी पहिरोको जोखिम बढेसँगै भूकम्पले जाजरकोटलगायत क्षति पुगेका आसपासका जिल्लामा पुनर्निर्माण र पुनः स्थापनाका लागि सरकारको योजनबारे गृहमन्त्री रमेश लेखकलाई प्रश्न उठाएका थिए ।
गृहमन्त्री लेखकले पनि नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको भन्दै चिन्ता व्यक्त गरे । यसबारे बोल्दै उनले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनः स्थापना अनुदान कार्यविधि,२०८१’ जारी भई कार्यान्वयनमा रहेको जानकारी दिए ।
गृहमन्त्री लेखकले बाढीपहिरोको उच्च जोखिममा भएका तथा नेपालको कुनै स्थानमा आवास बनाउने, जग्गा, घडेरी, उपलब्ध नभएका घरपरिवारका लागि बढीमा थप तीन लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।
उनले विपद् प्रतिकार्यका लागि सरकार अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेको भन्दै निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढेको बताएका छन् ।
उनका अनुसार हिजो (मङ्गलवार) गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता भयो ।
सम्झौता अनुसार अब सङ्घहरूले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउनेछ ।








