ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास सुरु गरौं : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि सम्पूर्ण नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै सुरु गर्नुपर्ने धारणा राखे ।
‘हामीले भनेको समाजवाद ऊर्जा क्षेत्रबाटै सुरु गरौं भन्ने मेरो कुरा हो,‘ मन्त्री खड्काले भने, ‘हुनेलाई मात्र होइन, नहुने नागरिकलाई पनि यस क्षेत्रमा आबद्ध गराएर समृद्धि खान नपुग्ने घरसम्म पुगोस् भन्ने सरकारको चाहना हो ।’
उनले विगतमा भएका कार्यहरूको समीक्षा गर्दै वर्तमान ऊर्जा नीतिहरू थप प्रभावकारी बनाइएको उल्लेख गरे । साथसाथै, विद्युत आयोजनाहरूमा अकल्पनीय क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणका उपायहरूमा ध्यान दिनुपर्नेमा जोड दिए ।
‘सबै घरधुरीमा विद्युत पु¥याई, प्रत्येक चुल्होमा उज्यालो पुगोस् भन्ने हाम्रो मनसाय हो,’ उनले भने, ‘तर यो सरकारको मात्रै प्रयासबाट सम्भव छैन। यसमा सरोकारवाला सबैको साथ र सहयोग अपरिहार्य छ ।’
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासलाई ढिला नगर्ने मानसिकता आवश्यक भएको स्पष्ट पार्दै राजनीतिक, प्राविधिक तथा सामाजिक तहका सबै पक्षसँग सहकार्यमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
कार्यक्रममा मन्त्री खड्काले ऊर्जा पहुँचलाई सामाजिक समावेशितासँग जोड्दै, ‘समाजवाद’ लाई व्यवहारमा उतार्न ऊर्जा क्षेत्रलाई आधार बनाउनुपर्ने धारणा समेत व्यक्त गरे ।








