डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता

काठमाडौँ । औरियम एकेडेमीको नेतृत्वमा, नेपालले डाना कप २०२५ मा तीन टोलीसहित सहभागिता जनाउँदै छ ।
जुन युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगितामध्ये एक हो । यसपटक रातो बंगला स्कुलका U12 ब्वाइज टोली र U14 गर्ल्स टोली, र संस्कृति इन्टरनेशनल स्कुलको U14 ब्वाइज टोली प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैछन् ।
यस सहभागितालाई अझ ऐतिहासिक बनाउने पक्ष भनेको हो U14 गर्ल्स टोली, जुन युरोपियन फुटबल प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली U14 बालिका टोली बन्ने ऐतिहासिक कीर्तिमान राख्दैछ।
यो सफलताले केवल रातो बंगला स्कुल र औरियमको गौरव मात्र बढाएको छैन, यसले नेपालको बालिका फुटबलको इतिहासमै नयाँ पाटो कोरेको आयोजकले जनाएको छ।
रातो बंगला स्कुल र संस्कृति इन्टरनेशनल स्कुलले लामो समयदेखि विद्यार्थीहरूको समग्र विकासमा जोड दिँदै आएका छन् । उनीहरूको औरियमसँगको सहकार्यले युवा खेलाडीहरूको प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पर्याउने दिशामा नयाँ ढोका खोलेको छ।
प्रतियोगिताको तयारीमा खेलाडीहरूको लगाव, प्रतिबद्धता र मेहनत प्रेरणादायक रह्यो । उनीहरूले दक्ष प्रशिक्षकहरूको नेतृत्वमा शारीरिक, प्राविधिक र मानसिक पक्षहरूमा उच्चस्तरीय प्रशिक्षण प्राप्त गरे।
औरियम एकेडेमी यस सम्पूर्ण यात्राको प्रमुख संयोजक र व्यवस्थापकको भूमिकामा रहेको छ। ‘स्पोर्ट्स फर मेन्टल हेल्थ र ग्रासस्ट फुटबल विकासलाई प्राथमिकता दिँदै आएको औरियमले यस अभियानलाई ‘एक धरोहर’ को रूपमा अगाडि बढाएको छ ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली खेलाडीहरूलाई निरन्तर अवसर दिँदै जानु औरियमको प्रमुख उद्देश्य हो ।
यी टोलीहरू युरोपेली भूमिमा पुग्दा उनीहरू सँगै एक देशको सपना, आत्मविश्वास र प्रेरणा बोकेर जाने बताइएको छ ।
यो सहभागिता केवल एउटा प्रतियोगिता मात्र नभएर नेपालको युवा फुटबलको पुनर्जागरणको संकेत भएको आयोजकले जनाएको छ ।








