तेलुगू अभिनेता कोटा श्रीनिवास रावको निधन, भारतीय सिनेमा शोकमा

हैदराबाद । तेलुगू फिल्म उद्योगका चर्चित अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका ८३ वर्षीय रावको आइतबार बिहान ४ बजे हैदराबादस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको निधनको खबर सार्वजनिक भएपछि भारतीय फिल्म क्षेत्र शोकमा डुबेको छ । दक्षिण भारतीय फिल्मकर्मीहरूदेखि लिएर बलिउडका कलाकारहरूले समेत सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

१९४२ जुलाई १० मा आन्ध्र प्रदेशको कन्कीपाडुमा जन्मिएका राव प्रतिष्ठित परिवारमा हुर्किएका थिए । उनका पिता डा. सीता राम अन्जनेयुलु एक चिकित्सक थिए । बाल्यकालमा चिकित्सक बन्ने सपना बोकेका रावको जीवनले पछि मोड लियो र उनी रंगमञ्चमार्फत अभिनयतर्फ आकर्षित भए ।

उनले आफ्नो फिल्मी यात्रा सन् १९८७ मा रिलिज भएको ‘प्रणाम खरीदु’ बाट सुरु गरेका थिए । त्यसपछि उनले चार दशकभन्दा बढीको करिअरमा ७५० भन्दा बढी फिल्ममा अभिनय गरे । विशेषगरी नकारात्मक तथा गहिरा चरित्रहरूमा उनले छुट्टै छाप छाडे ।

‘प्रतिघातना’, ‘गयम्’, ‘तीरपु’, ‘गणेश’, ‘पेलैना कोथालो’ लगायतका फिल्ममा उनले निभाएका भूमिकाहरू आज पनि दर्शकको मनमा छन् । तेलुगूसँगै तमिल, कन्नड र हिन्दी भाषाका फिल्ममा समेत उनले सफल अभिनय गरेका थिए ।

भारतीय सिनेमामा पु¥याएको योगदानका लागि उनलाई सन् २०१५ मा भारत सरकारले पद्मश्री पुरस्कारद्वारा सम्मानित गरेको थियो। अभिनयसँगै उनी १९९९ देखि २००४ सम्म आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रबाट विधायक पनि रहेका थिए ।

उनको निधनले दक्षिण भारतीय फिल्म उद्योगमा अपूरणीय क्षति भएको भन्दै धेरै कलाकारहरूले भावुक प्रतिक्रिया जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =