करियर सपोर्टका लागि ब्लाइन्ड डेट !

काठमाडौँ । ‘ब्लाइन्ड डेट’ नेपालको सबैभन्दा चर्चित डेटिङ रियालिटी शो हो ।
जुन सुपरहिट सिनेमा नेपालले हरेक हप्ताको सोम, बुध र शुक्रवार साँझ ६ बजे युट्युबमार्फत प्रसारण गर्दछ ।
यसअघि ‘ब्लाइन्ड डेट’ का २ वटा सिजनहरूले दर्शकलाई भरिपूर्ण मनोरञ्जन दिन सफल भएको थियो । जसले नेपाली समाजमा प्रेम, डेटिङ, सेक्स र जीवन साथीको छनोट स्वतन्त्रतालाई खुला बहसका रूपमा ल्यायो ।
सन् २०२१ फेब्रुअरी २६ मा पहिलो एपिसोड ल्याएर मनोरञ्जन क्षेत्रमा यात्रा सुरु गरेको ‘ब्लाइन्ड डेट’ ले नेपाली समाजमा ठुलो चर्चा र आलोचना एकसाथ बटुल्दै आएको छ ।
यसले समाजमा भड्किलो, अशिष्ट र अश्लीलता फैलाएको भन्ने लगायतका आलोचनाहरू पनि पाउँदै आएको छ भने छोटो समयमा नै यसका हरेक एपिसोडहरूले लाखौँ भ्युज पाउने गरेको छ ।
केही समय अगाडि (जुन २८, २०२५ मा) ‘ब्लाइन्ड डेट’ सिजन थ्री को समापन पनि भइसकेको छ ।
पहिलेको सिजनमा जस्तै यस सिजनमा पनि विभिन्न स्थानबाट अडिसन दिएका १० प्रतियोगीहरूले शो मा सहभागिता जनाएका थिए । जसमध्ये मुस्कान सुनार र स्वेच्छा ढकाल पनि रहेकी छन् ।
मुस्कान र स्वेच्छा दुवै कडा (अनुशासित) परिवारबाट आएका हुन् । ‘ब्लाइन्ड डेट’ मा जान समेत अनुमति नदिएका परिवारबिच कसरी उनीहरूले यस शोमा भाग लिए त ? यस प्रश्न भित्र वास्तवमै रोचकताले भरिएको उत्तर समावेश रहेको छ ।
‘ब्लाइन्ड डेट’ को यात्रामा पनि उनीहरूले विभिन्न शारीरिक, मानसिक र सामाजिक आरोह/अवरोहको सामना गर्दै आएका थिए ।
अन्त्यमा दुवैको गन्तव्य भने उही रहेको बताउँछन् । मनोरञ्जन क्षेत्रमा आफ्नो करिअर बनाउने ।
यसबिच स्वेच्छाले विभिन्न सुन्दरी प्रतियोगीताहरुमा भाग लिँदै आएकी छिन् भने मुस्कानले पनि म्युजिक भिडिओहरूमा काम गर्न थालिसकेकी छन् ।
हेर्नुहोस्, मकालुखबरद्वारा प्रसारित ‘मेरो स्वप्न संसार : कथा जुन वास्तविकता’ कार्यक्रममा तेन्जिङ डोल्मा तामाङले ‘ब्लाइन्ड डेट’ सिजन थ्री की प्रतियोगीहरू मुस्कान सुनार र स्वेच्छा ढकालसँग लभ, करियर र सङ्घर्ष बारेमा गरेको कुराकानी ।
भिडिओ :








