रामारोशन गाउँपालिकाले भन्यो– गालीगलौज र व्यक्तिगत आक्षेप सह्य छैन

अछाम । अछामको रामारोशन गाउँपालिकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुखविरुद्ध सामाजिक सञ्जालमा भइरहेका आपत्तिजनक टिप्पणीप्रति गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको चेतावनी दिएको छ ।
गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक मर्यादा र प्रचलित कानुनको उल्लङ्घन गर्दै अराजकता फैलाउने कार्य भइरहेको भन्दै कानुनी उपचार खोज्ने बताएको हो । पालिकाले यस्तो गतिविधि आपराधिक र अराजक मानसिकताको उपज भएको बताएको छ ।
‘कानुनी राज्यमा आफूलाई कानुनभन्दा माथि ठानी सामाजिक सद्भाव भङ्ग गर्ने, अतिवादी गतिविधि फैलाउने, अरूको इज्जत प्रतिष्ठामा आँच पु¥याउने कार्यको छुट कसैलाई छैन,’ विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाले हाल सञ्चालनमा रहेको रामारोशन शैक्षिक रूपान्तरण अभियानप्रति देखिएको जनसमर्थन र लोकप्रियताबाट भयभीत भएर नियोजित रूपमा व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फैलाउन थालेको आरोप लगाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो हमला प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखमाथिको मात्र नभई सिङ्गो गाउँपालिका र स्थानीय सरकारमाथिको लक्षित प्रहार हो ।’
पालिकाले गुणस्तरीय शिक्षा सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यसहित अघि बढिरहेको जनाउँदै सामाजिक सञ्जालमा फैलाइएका झुटा प्रचारप्रति ध्यान नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
‘समालोचना स्वाभाविक हो, तर गालीगलौज र व्यक्तिगत आक्षेप सह्य हुँदैन,’ पालिकाले भनेको छ, ‘व्यक्तिगत प्रतिशोध नराखिए पनि कानुनी प्रक्रिया अवलम्बन गरिनेछ ।’
रामारोशन गाउँपालिकाले विकास, सुशासन र समृद्धितर्फ आफू दृढप्रतिज्ञ रहेको उल्लेख गर्दै सबै स्थानीयवासीलाई संयमित र जिम्मेवार सामाजिक व्यवहार अपनाउन अपिल गरेको छ ।









