माधव नेपालको नैतिकतामाथि सूर्य थापाको प्रश्न

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहँदा पनि पार्टी नेतृत्व नछाडेको भन्दै थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालमाथि सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन् ।
मंगलबार बिहान फेसबुकमा एक लामो र आक्रामक स्टाटस लेख्दै थापाले एमाले विभाजनको पुरानो रिस र वर्तमान राजनीतिक परिस्थितिलाई जोडेर नेपालको तीव्र आलोचना गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेपछि नेपालले नैतिक जिम्मेवारी लिँदै पदबाट अलग हुने अपेक्षा आफूले राखेको तर त्यसो नहुनु ‘भयानक स्खलन र पतन’ भएको उनको ठहर छ ।
आफ्नो तर्कलाई बलियो बनाउन थापाले एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको एक अभिव्यक्तिलाई समेत उद्धृत गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नै स्थायी कमिटी सदस्यले ‘सिनो’ बोकेर हुन्न भनिसक्दा पनि नैतिकताको सामान्य अनुभूति गरेर मुद्दा खेपिरहेका बखत दल र पार्टीको नेतृत्व छाड्ने घोषणा गर्न अनिच्छुक देखिनु एउटा भयानक स्खलन र पतन नै हो ।’
थापाले नेपालले अदालतबाट सफाइ पाएपछि पुनः नेतृत्वमा फर्किने घोषणा गरेर मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका थिए । उनले थपे, ‘जब अख्तियारले सार्वजनिक लेखा समितिको सिफारिस र लामो अनुसन्धानपछि मुद्दा नै दायर गरिसक्यो, उहाँले आफ्नो पार्टी र दलको नेतृत्वमा नरहेको घोषणाका साथ कथं अदालतबाट सफाइ पाएँ भने पुन: नेतृत्वमा फिर्ता हुँला भन्नुहोला भन्ने लागेको थियो ।’
थापाले एकीकृत समाजवादीभित्र नेपालको राजीनामाको विषयमा उठिरहेको आवाजलाई दबाउन महासचिव घनश्याम भुसालले सर्कुलर जारी गरेको घटनालाई ‘रमिता’को संज्ञा दिएका छन् । उनले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, ‘पार्टीभित्रबाट राजीनामा दिन बोल्ने/लेख्नेहरूको मुख बन्द गर्न/थुन्न महासचिव घनश्यामले सर्कुलर नै जारी गर्नुभएको रमिता पनि भानुभक्त आचार्यको यसै ‘अलकापुरी कान्तिपुरी नगरी’मा पो देख्नुपरेको छ ।’








