गुण र दोषको आधारमा न्यायाधीश नियुक्ति सिफारिस गर्नेछु : नेपाल

काठमाडौं । न्याय परिषद् सदस्य पदका लागि सिफारिस भएका महेशकुमार नेपालले न्यायपालिकामा गुणस्तरीय र निष्पक्ष प्रणालीको प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले न्यायाधीशको नियुक्ति, सरुवा तथा अन्य कारबाहीमा कुनै पूर्वाग्रह नराखी गुण र दोषको आधारमा निर्णय लिने स्पष्ट गरे ।

‘कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरूको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्नेछु,’ नेपालले भने, ‘संविधान र कानूनको निष्पक्षतापूर्वक पालना गर्नेछु ।’

संविधानप्रति पूर्ण जिम्मेवारी वहन गर्दै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा अटुट प्रतिबद्धता रहने उनले बताए । न्यायपालिकामा समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रयत्नशील रहने प्रतिबद्धता उनले दोहो¥याए ।

उनले थपे, ‘आस्थाको आधारमा कसैप्रति भेदभाव वा असमान व्यवहार गर्नेछैन । न्यायिक अनुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि निरन्तर प्रयासरत रहनेछु ।’

नेपालले न्यायपालिकाको गरिमा र छवि अभिवृद्धिका लागि व्यक्तिगत तथा संस्थागत रूपमा भूमिका निर्वाह गर्ने स्पष्ट पारे। न्याय सम्पादन र प्रमुख कार्यको जिम्मेवारी प्रधानन्यायाधीशकै हुने भन्दै, आफूले संस्थागत काममा पूर्ण सहयोग गर्ने बताए ।

‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढीकरणमा सतप्रयास जारी राख्नेछु । आफूले गर्ने कार्यको उत्तरदायित्व र जवाफदेहिता सदैव ग्रहण गर्नेछु,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =