इरानले भन्यो– ‘आक्रमण नगर्ने ग्यारेन्टी भए मात्र अमेरिकासँग वार्ता’

काठमाडौं । इरानले आफूले गोप्य रूपमा आणविक बम बनाइरहेको भन्ने अन्तर्राष्ट्रिय आरोपको खण्डन गरेको छ । आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगका लागि मात्र वैज्ञानिक अनुसन्धान गरिरहेको जिकिर गर्दै इरानले अमेरिकासँगको सम्भावित वार्ताका लागि कडा शर्त अघि सारेको छ । वार्ता चलिरहेको समयमा कुनै पनि प्रकारको आक्रमण नहुने सुनिश्चितता भए मात्र कूटनीतिक संवादमा बस्न सकिने उसको अडान छ ।
इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीका अनुसार, अमेरिकाले इरानसँग ‘शून्य युरेनियम संवर्द्धन’ हुनुपर्ने भन्दै बम प्रहारको चेतावनी दिनु पूर्णतः गैरकानुनी र अन्यायपूर्ण छ । ‘हामी आणविक ऊर्जाको विकासमा वैज्ञानिकहरूको सहयोग लिइरहेका छौँ, तर हाम्रो कार्यक्रम बम बनाउन लक्षित छैन,’ उनले भने ।
अमेरिकाले मध्यस्थकर्तामार्फत वार्ताका लागि प्रस्ताव पठाएको खुलासा गर्दै ती अधिकारीले वार्तामा बस्नुअघि अमेरिकाले आफ्नो नियत र अडान स्पष्ट पार्नुपर्ने माग गरे । ‘वार्ताको टेबलमा बस्ने र अर्कोतर्फबाट आक्रमणको धम्की आइरहने अवस्था स्वीकार्य छैन,’ उनले भने, ‘आक्रमण रोक्ने प्रतिबद्धता हाम्रो पहिलो शर्त हो ।’
यो विवाद बढ्दै जाँदा हालै इजरायलले इरानका आणविक केन्द्र र सैन्य कमान्डरहरूलाई लक्षित गरी लगातार १२ दिनसम्म आक्रमण गरेको थियो । त्यसलगत्तै अमेरिकाले पनि इरानी निशानाहरूमा आक्रमण गरेको थियो, जसपछि उसले लक्षित संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारेको दाबी गर्दै आएको छ । तर, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को मूल्याङ्कन भने फरक छ । एजेन्सीका अनुसार आक्रमणबाट इरानी पूर्वाधारमा ठूलो क्षति पुगे पनि त्यो पूर्ण रूपमा नष्ट भएको छैन। केही महिनाभित्रै ती संरचनाहरू पुनः सञ्चालनमा आउन सक्ने एजेन्सीको ठहर छ ।








