कम्युनिस्टको नैतिकता बुर्जुवाको घुँडासम्म पनि रहेन : सुदन किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका कम्युनिस्ट नेताहरूको नैतिक धरातल र आचरणमाथि गम्भीर प्रश्न उठाउँदै तिखो टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै उनले सिद्धान्तमा आदर्शको कुरा गर्ने तर व्यवहारमा पद र सुविधाका लागि मरिहत्ते गर्ने प्रवृत्तिले कम्युनिस्टहरूको नैतिकता आफूहरूले नै गाली गर्ने ‘बुर्जुवा’हरूको भन्दा पनि तल खस्किएको बताएका हुन् ।
आफ्नो फेसबुक वालमा एक मार्मिक सन्देश पोस्ट गर्दै नेता किरातीले लेखेका छन्, ‘हामी कम्युनिस्टहरुको नैतिक उचाइ हामीले नै भन्दै गरेको बुर्जुवाहरूको घुँडा घुँडासम्म पनि रहेनछौँ ।’
नेपाली नेताहरूको पदलोलुप प्रवृत्तिमाथि व्यङ्ग्य गर्न उनले अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको उदाहरण प्रस्तुत गरेका छन्। वासिङ्टनलाई दोस्रो कार्यकालका लागि चौतर्फी दबाब आउँदा समेत उनले ‘तेस्रो पटक राष्ट्रपति बन्न भन्न पाइने छैन’ भन्ने सर्तमा मात्र स्वीकार गरेको र त्यही नैतिक अडान अमेरिकामा एक राजनीतिक संस्कृतिका रूपमा स्थापित भएको किरातीले स्मरण गराएका छन् । यसको ठीकविपरीत नेपाली राजनीतिमा पद र शक्तिका लागि हुने अमर्यादित प्रतिस्पर्धाप्रति उनले गहिरो असन्तुष्टि व्यक्त गरेका छन् ।
आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको एक अभिव्यक्तिले आफूलाई यो टिप्पणी लेख्न प्रेरित गरेको किरातीले खुलाएका छन् । अध्यक्ष प्रचण्डले ‘कम्युनिस्ट पार्टीभित्र विचलन आयो, नेताहरू सिद्धान्त बिर्सेर पद मात्रै खोज्छन्’ भन्ने आशयको अभिव्यक्ति दिएपछि आफू चुप रहन नसकेको उनको भनाइ छ । ‘नेपाली राजनीतिमा राज्यले दिएको सुविधा उपयोग गर्दै सम्माननीयहरूको असम्माननीय होडबाजी र अध्यक्ष कमरेड प्रचण्डको भनाइबाट म शान्त रहन सकिनँ,’ उनले लेखेका छन् ।








