एलिना र समीक्षालाई ओलीको समर्थन, भने- ‘साहसी छोरीहरू’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने अभद्र टिप्पणीविरुद्ध गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले चालेको कदमको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनीहरूलाई ‘साहसी छोरीहरू’ को संज्ञा दिँदै ओलीले उनीहरूको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारेका हुन् ।

पछिल्लो समय गायिका चौहान र अधिकारीले आफ्ना सामाजिक सञ्जालमा निरन्तर रूपमा अभद्र तथा अपमानजनक टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल र कमेन्ट सार्वजनिक गर्ने अभियान चलाउँदै आएका छन् । यही अभियानलाई इंगित गर्दै ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा दुवै गायिकाको तस्बिरसहित प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले समाजमा बढ्दो गालीगलौजको प्रवृत्ति र नकारात्मकताप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । आफूलाई उत्कृष्ट देखाउन अरूलाई निरन्तर होच्याउने र सराप्ने मानसिकतालाई उनले ‘परपीडक प्रवृत्ति’ को संज्ञा दिँदै यसलाई समाजका लागि खतरनाक भनेका छन् । आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ ।’

सकारात्मक पहलकदमी लिने व्यक्तिहरूमाथि नियोजित रूपमा गालीगलौज हुने प्रवृत्तिले सीमा नाघेको उनको ठहर छ। यस्तो अवस्थामा गायिकाद्वयले अपनाएको प्रतिवादको शैली सही भएको बताउँदै ओलीले लेखेका छन्, ‘समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =