त्रिशूलीमा हाम फालेर बेपत्ता महिलाको परिचय खुल्यो

काठमाडौं । धादिङको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमा एक महिला हाम फालेर बेपत्ता भएकी छन् । बुधबार बिहान भएको घटनापछि सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको खोजी कार्यलाई तीव्र बनाएको छ ।
प्रहरीका अनुसार, हाम फाल्नेमा गल्छी गाउँपालिका-१ की ५६ वर्षीया साइली गिरी रहेको पहिचान खुलेको छ । उनले बुधबार बिहान करिब ९ बजे छाङगेश्वर मन्दिर नजिकैबाट नदीमा हाम फालेको बताइएको छ । घटना देख्ने स्थानीयले खबर गरेलगत्तै प्रहरी परिचालन भएको थियो ।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपालको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट गोताखोरसहितको तालिम प्राप्त टोली घटनास्थलमा खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार प्रहरी नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डमा रहेको टोलीले नदीको सम्भावित बहाव क्षेत्रमा खोजी गरिरहेको छ ।
नदीमा पानीको बहाव बढेकाले खोजी कार्य चुनौतीपूर्ण भए पनि प्रयास जारी राखिएको प्रहरीले जनाएको छ । घटनाको कारण भने खुल्न सकेको छैन र यसबारे थप अनुसन्धान भइरहेको छ ।








