रङ्गमञ्चले मेरो कलाकारितालाई अनुशासित बनाउँछ : सरोज खनाल

काठमाडौं । तीन दशकभन्दा बढी समय रङ्गमञ्च र चलचित्रमा बिताइसकेका अभिनेता सरोज खनाल फेरि नाटकको मञ्चमा फर्किएका छन् ।

चलचित्रमा सहअभिनेता भूमिकामा सक्रिय रहेका खनालले आठ वर्षपछि मञ्चन गरिएको नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा अभिनय गरिरहेका छन् ।

विसं २०७४ मा ‘बाह्र दुर्वासा’ नाटक खेलेपछि चलचित्रतिर लागेका खनाल पछिल्लो समय अभिनय अनुशासन गुमाउँदै गएको महसुस गर्दै मञ्चमै फर्किनु परेको बताउँछन् । “रङ्गमञ्चमा आएपछि म आफूलाई बुझ्छु,” खनाल भन्छन्, “यहाँ म पात्रसँग बाँच्न सिक्छु, त्यही प्रयासमा दुई महिनादेखि मञ्जिरा भएर बाँचिरहेको छु ।”

नाटक ‘मञ्जिराः द म्यूटेड मेलोडी’ मा द्वन्द्वकालमा यौनहिंसा भोग्न बाध्य भएकी एक महिलाको पीडामय कथा देखाइएको छ । अधिवक्ता गोपालको भूमिका निर्वाह गरिरहेका खनाल मञ्चनको अन्त्यतिर आँसु नथामिने बताउँछन् । “त्यहाँ म पात्र मात्रै होइन, पीडाको साक्षी बन्छु,” उनी भन्छन्, “मञ्जिरा जस्ता कति महिलाले आजसम्म घाउ बोकेर बाँचेका छन् भन्ने पीडा छुन्छ ।”

अभिनयलाई अनुशासन, नाटकलाई आत्मानुभूति र रंगमञ्चलाई अभिनयको कक्षाजस्तै मान्ने खनाल अब हरेक वर्ष कम्तीमा दुई नाटकमा अभिनय गर्ने योजनामा छन् । “चलचित्रमै अभिनय गरे पनि आत्मसन्तुष्टि भने मञ्चमै भेटिन्छ,” उनी भन्छन् ।

सोमनाथ खनालको निर्देशनमा मञ्चन भएको ‘मञ्जिरा’ असार ८ गतेसम्म मण्डला थिएटरमा नियमित चल्यो । अबका केही ‘विकेन्ड’मा बुकिङ शो हुने मण्डलाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =