‘दुश्मन हेरेको हेर्यै’ले १० करोड भ्युज पार गर्यो, दुर्गेशलाई प्रधानमन्त्रीको बधाई सन्देश

काठमाडौं । नेपाली सांगीतिक बजारमा लोकप्रिय गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ ले युट्युबमा १० करोड (सय मिलियन) भ्युजको ऐतिहासिक आँकडा पार गरेको छ । सार्वजनिक भएको केवल पाँच महिनाको छोटो अवधिमै यो गीतले उक्त सफलता हासिल गरेपछि यसले सांगीतिक क्षेत्रमा नयाँ तरंग सिर्जना गरेको छ ।
गीतको यो अभूतपूर्व सफलतापछि प्रधानमन्त्री केपी शर्मा ओलीले गायक थापालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा एक बधाई सन्देश लेख्दै आजको युवा पुस्ताको बदलिँदो सांगीतिक रुचिलाई गीतले प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आजको नयाँ पिढीले बेग्लै स्वादका गीतसंगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । सय मिलियन भ्युज पुगेको उपलक्षमा गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’
यो सफलतापछि सर्जक थापाले पनि सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै आफू भावुक भएको बताएका छन् । उनले लेखेका छन्, ‘म भावुक छु, अभिभूत छु । हजुरहरुले दिनुभएको मायाले हाम्रो सृजनाले असाध्यै ठूलो उचाइ चुम्न सफल भयो ।’
थापाकै शब्द तथा संगीतमा तयार भएको यो गीतमा उनको स्वरलाई वरिष्ठ गायक आनन्द कार्की, लोकप्रिय गायिका एलिना चौहान र समीक्षा अधिकारीले साथ दिएका छन् । त्यस्तै, गीतको म्युजिक भिडियोमा दुर्गेशसँगै चर्चित अभिनेत्री प्रियंका कार्की र कविता नेपालीको आकर्षक नृत्य देख्न सकिन्छ ।








