विप्लवको साथ खोज्दै प्रचण्ड, खुमलटारमा भेटवार्ता

काठमाडौं । सत्ता समीकरण फेरबदलसँगै प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच लामो समयपछिको संवादहीनता तोड्दै भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव विप्लव प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित मंगलबार बिहान खुमलटारस्थित उनको निजी निवास पुगेका थिए । सरकारबाट बाहिरिएपछि निष्क्रियप्रायः बनेको समाजवादी मोर्चा र पातलिएको संवादका बीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । प्रचण्ड सचिवालयका अनुसार भेटमा समसामयिक राजनीति, वामपन्थी आन्दोलनको भविष्य र पार्टी एकताका विषयमा गम्भीर छलफल भएको थियो ।
यसअघि दुई नेताबीच तत्काल सहकार्य गर्दै पार्टी एकताका लागि संवाद अघि बढाउने समझदारी भए पनि सत्ता राजनीति र अन्य कारणले सम्बन्ध चिसिएको थियो । प्रचण्डले सार्वजनिक मञ्चहरूमा पूर्व माओवादी घटकहरूलाई एकै ठाउँमा ल्याउने बताउँदै आए पनि एकता प्रक्रियाले गति लिन सकेको छैन । बरु, पार्टीभित्रै उपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरूले आगामी महाधिवेशनबाट प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै दबाब बढाएका छन् ।








