इरान-इजरेल युद्धमा नमुछिन अमेरिकालाई इरानको चेतावनी, निर्णयको पर्खाइमा मध्यपूर्व

काठमाडौं । इरान र इजरेलबीच जारी सैन्य द्वन्द्वले गम्भीर मोड लिइरहेका बेला इरानले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ । यदि इजरेलमाथि भइरहेको हमलामा अमेरिका सामेल भए त्यसले ‘सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्त्याउने’ इरानी उपविदेशमन्त्री सइद खतीबजादेहले बताएका छन् । ‘यो अमेरिकाको युद्ध होइन,’ खतीबजादेहले भने, ‘यदि राष्ट्रपति डोनल्ड ट्रम्पले यसमा सामेल हुने निर्णय गरे भने उनलाई इतिहासले आफू असंलग्न युद्धमा होमिने निर्णय गर्ने राष्ट्रपतिका रूपमा स्मरण गर्नेछ ।’
उनले अमेरिकी संलग्नताले जारी द्वन्द्वलाई दलदलमा फसाउने, निरन्तर आक्रामकता निम्त्याउने र ‘बर्बर ज्यादती’को अन्त्यमा ढिलाइ गराउने बताए । इरानको यो कडा टिप्पणी दक्षिण इजरेलको सोरोका अस्पतालमा इरानी क्षेप्यास्त्र प्रहार भएपछि आएको हो । इजरेली स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हमलामा कम्तीमा ७१ जना घाइते भएका छन् । यद्यपि, इरानी सञ्चारमाध्यमहरूले अस्पताललाई नभई नजिकैको सैन्य इलाकालाई निसाना बनाइएको दाबी गरेका छन् ।
यो हमलाको प्रतिक्रियास्वरूप इजरेली सेनाले इरानका परमाणु संरचनाहरूमा हमला गरिरहेको पुष्टि गरेको छ, जसमा अराकस्थित ‘निष्क्रिय’ हेभी वाटर रियाक्टर र नतान्जस्थित प्रमुख परमाणु केन्द्र रहेका छन् । तेहरानले भने इजरेली आक्रमणबाट भएको हताहतीबारे कुनै अद्यावधिक विवरण सार्वजनिक गरेको छैन ।
ट्रम्पको दुई साताको समयसीमा
यसैबीच, ह्वाइट हाउसले बिहीवार राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा प्रत्यक्ष सामेल हुने वा नहुने भन्नेबारे आगामी दुई साताभित्र निर्णय लिने जानकारी दिएको छ । ‘निकट भविष्यमा हुन सक्ने इरानसँगको वार्ताको सम्भावनालाई ध्यानमा राख्दै मैले दुई साताभित्र (युद्धमा सामेल हुने कि नहुने) निर्णय लिनेछु,’ ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलीन लेभीटले राष्ट्रपति ट्रम्पको सन्देश उद्धृत गर्दै भनिन् ।
इरानी उपविदेशमन्त्री खतीबजादेहले आफ्नो देशको पहिलो रोजाइ कूटनीति नै भएको तर बमबारी भइरहेको अवस्थामा कुनै पनि वार्ता सम्भव नहुने स्पष्ट पारे। उनले इजरेलमाथिको हमलालाई संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१ अन्तर्गत आफ्नो देशको ‘आत्मरक्षाको अधिकार’ भनी व्याख्या गरे । ‘जुन १३ मा जब इजरेलले हाम्रा परमाणु केन्द्रहरूमा आक्रमण गर्यो र हाम्रा उच्च सैन्य जनरल तथा परमाणु वैज्ञानिकहरूको हत्या गर्यो, त्यतिबेला हामी कूटनीतिक प्रयासको बीचमा थियौँ,’ उनले ओमानको मध्यस्थतामा अमेरिका र इरानबीच भइरहेको गोप्य वार्तातर्फ इङ्गित गर्दै भने ।
उनले थपे, ‘हामी मस्कटमा छैटौँ चरणको वार्ता गर्ने तयारीमा थियौँ र सम्झौताको संघारमा पुगेका थियौँ। यो कुरा अरूले भन्दा राष्ट्रपति ट्रम्पलाई राम्रोसँग थाहा थियो ।’ इजरेलले इरान परमाणु बम निर्माणको अन्तिम चरणमा पुगेको दाबी गर्दै आएको छ, जसलाई खतीबजादेहले ठाडै अस्वीकार गरे । ‘यदि हामीलाई परमाणु बम चाहिएको थियो भने हामीले पहिले नै बनाइसक्थ्यौँ,’ उनले भने, ‘कुनै अनुमानको भरमा युद्ध छेड्नु गलत हो ।’
मध्यपूर्वमा बढ्दो तनावलाई मत्थर पार्न युरोपेली देशहरूले कूटनीतिक पहल थालेका छन् । युरोपेली युनियन, ब्रिटेन, जर्मनी र फ्रान्सका विदेशमन्त्रीहरूले आफ्ना इरानी समकक्षी अब्बास अरागचीसँग शुक्रवार जिनिभामा भेटवार्ता गर्ने भएका छन् । इजरेलले आक्रमण गरेपछि हुन लागेको यो पहिलो उच्चस्तरीय प्रत्यक्ष वार्ता हो, जसलाई तनाव कम गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।








