रोशी खोलाको बाढीमा फसेका पाँच जनाको सकुशल उद्धार

बनेपा । वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बीचमा फसेका पाँच जनाको उद्धार गरिएको छ । बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका-५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बीचमा फसेका थिए ।
पाँच जना मानिस खोलाको बीचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलामा फसेका उनीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका-४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका-५ का टिप्पर चालक मुस्कान तामाङ, तेमाल गाउँपालिका-५ का निर्माण व्यवसायी सन्जय लामालाई उद्धार गरेको हो। यस्तै तेमाल गाउँपालिका-९ का टिप्पर चालक रेमन तामाङ र दोलखा भिमेश्वर नगरपालिका-९ का जेसिबी चालक समिर तामाङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए। उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।








