वडाध्यक्षहरूको एकतासामु झुके मेयर बालेन, निर्णय फिर्ता

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) वडाध्यक्षहरूको चौतर्फी दबाब र संगठित प्रतिरोधपछि आफ्नो एकपक्षीय निर्णयबाट पछि हट्न बाध्य भएका छन् । कार्यपालिकालाई छलेर विभिन्न समितिका संयोजक हेरफेर गर्ने उनको निर्णयविरुद्ध पदबाट हटाइएका र नयाँ जिम्मेवारी पाएका दुवै पक्षका वडाध्यक्षहरू एकजुट भएपछि मेयर शाहले उक्त निर्णय फिर्ता लिएका हुन् ।

गत जेठ १ गते मेयर शाहले एक सूचना जारी गर्दै तीनवटा महत्वपूर्ण समितिका संयोजकहरू परिवर्तन गरेका थिए । उनले सूचना प्रविधि समितिबाट नवीन मानन्धर (वडा नं. ३२), सुशासन समितिबाट ख्यामराज तिवारी (वडा नं. २६) र सम्पदा तथा पर्यटन समितिबाट आशामान संगत (वडा नं. ८) लाई हटाएका थिए । उनीहरूको स्थानमा क्रमशः वीरेन्द्र प्रजापति (वडा नं. ५), दलबहादुर कार्की (वडा नं. ३०) र विनोदकुमार राजभण्डारी (वडा नं. २४) लाई नयाँ जिम्मेवारी तोकिएको थियो ।

तर, मेयरको यो कदम ‘हचुवाको भरमा’ र ‘कार्यपालिकाको अधिकार मिचेर’ आएको भन्दै पदमुक्त गरिएका वडाध्यक्षहरूले तत्कालै कडा प्रतिवाद गरेका थिए । वडाध्यक्षहरू आशाराम संगत, ख्यामराज तिवारी र नवीन मानन्धर लगायतले विज्ञप्ति नै जारी गरी कार्यपालिकाको निर्णयविना गरिएको हेरफेर नमान्ने र यस किसिमका एकल निर्णय नसच्याए थप कदम चाल्ने चेतावनी दिएका थिए ।

विवाद त्यतिमा मात्र सीमित रहेन । मेयर शाहबाट नयाँ जिम्मेवारी पाएका वडाध्यक्षहरू प्रजापति, कार्की र राजभण्डारीले समेत पद अस्वीकार गर्दै ऐक्यबद्धता जनाए । उनीहरूले संयुक्त रूपमा मेयर शाहलाई पत्र लेख्दै ‘कार्यपालिका बैठकबाट अनुमोदन नभएको जिम्मेवारी’ आफूहरूले ग्रहण गर्न नसक्ने स्पष्ट पारे, जसले मेयरमाथि थप नैतिक र राजनीतिक दबाब सिर्जना गर्‍यो ।

एक वडाध्यक्षका अनुसार, चौतर्फी दबाब थेग्न नसकेपछि मेयर शाह पुराना संयोजकहरूलाई नै यथावत् जिम्मेवारीमा फर्काउन सहमत भएका छन् । ‘हाम्रो अडान प्रक्रिया र विधिको पक्षमा थियो । मेयरज्यूले आफ्नो गल्ती महसुस गरी निर्णय सच्याउन तयार हुनुभएको छ,’ ती वडाध्यक्षले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =