मेयर बालेनको एकल निर्णय फिर्ता, चार वडाध्यक्षले पाए पुरानै जिम्मेवारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चार जना वडाध्यक्षको जिम्मेवारी खोस्ने निर्णयबाट पछि हटेका छन् ।

एकल निर्णयमार्फत समितिका प्रमुखहरू हटाएर नयाँ तोकेका मेयर साहले चौतर्फी दबाबपछि उक्त निर्णय फिर्ता लिएका हुन् ।

यसअघि साहले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन, र सूचना तथा प्रविधि समितिको जिम्मेवारीबाट हटाएका थिए । तर कार्यपालिकाको निर्णयबिना गरिएका यी परिवर्तनहरू वडाध्यक्षहरू र अन्य नगरसभा सदस्यहरूले अस्वीकार गरेका थिए ।

नयाँ जिम्मेवारी पाएका वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नं. ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यपालिकाको निर्णय विना जिम्मेवारी परिवर्तन स्वीकृत गर्न नसकिने बताएका थिए ।

उनीहरूले मेयरलाई पत्र पठाउँदै पद अस्वीकार गरेका थिए । विधायन समितिको जिम्मेवारी वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो ।

पछिल्लो समय मेयर साह कार्यपालिका बैठकसमेत नियमित रुपमा सञ्चालन गर्न नसकेको अवस्थामा रहेका छन् ।

उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका तथा नगरसभा सदस्यहरूले अनौपचारिक बैठक गर्दै निरन्तर दबाब दिएको एक वडाध्यक्षले जानकारी दिएका छन् । दबाबका कारण मेयर साह उक्त निर्णयबाट पछि हट्न बाध्य भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =