२५ सचिवले राजीनामा दिन्छन् भने नयाँ सहसचिव ल्याऔँ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले संघीय निजामति सेवा विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन केही सचिवहरूले संयुक्त राजीनामा दिने धम्की दिँदै सरकारमाथि दबाब दिएको खुलासा गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले कर्मचारीहरूको दबाबकै कारण सरकारले विधेयक संसदमा अगाडि नबढाएको आरोप लगाए । उनले यस्तो धम्कीकै कारण बहुप्रतिक्षित विधेयकलाई रोक्नु नहुने उल्लेख गर्दै सरकारलाई खुट्टा नकमाई विधेयक तुरुन्त अगाडि बढाउन आग्रह गरे ।
सांसद पाण्डेले भने, ‘मैले सुनेको छु, केही कर्मचारीहरूले ‘कुलिङ पिरियड’ हटाउन संयुक्त राजीनामा दिन्छौं भनेर धम्किपूर्ण व्यवहार गर्दै छन्। सरकार खुट्टा नकमाओस् । यदि २५ जना सचिवले राजीनामा दिन्छन् भने, नयाँ सहसचिवहरूलाई अवसर देऊ ।’
उनले यस्ता दबाबमा आएर नीति निर्माण गर्नु सरकारको कमजोरी हुने भन्दै निजामति सुधारको बाटो नछोड्न आग्रह गरे ।
गत मंगलवार संघीय निजामति सेवा विधेयक प्रतिनिधि सभाको कार्यसूचीमा परेपनि अन्तिम समयमा हटाइएको थियो । सांसद पाण्डेले यसलाई कर्मचारीहरूको दबाबको असर भएको दाबी गर्दै संसदीय प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।








