ट्रम्पलाई खामेनीको कडा जवाफ- ‘युद्ध सुरु भयो, यहूदी शासनलाई दया छैन’

काठमाडौं । मध्यपूर्वमा तनाव चुलिँदै गएको सङ्केत दिँदै इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिल्यै शान्ति सम्झौता नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत ‘युद्ध सुरु भइसकेको’ दाबी गर्दै इजरायलविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका हुन् ।
खामेनीको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उत्तेजक पोस्टहरूको प्रतिक्रियास्वरूप आएको हो । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा इरानी सर्वोच्च नेता लुकेर बसेको र सजिलो निशाना भएको जस्ता टिप्पणी गरेका थिए ।
आफ्नो एक पोस्टमा खामेनीले लेखेका छन्, ‘हामीले आतङ्ककारी यहूदी शासनलाई कडा जवाफ दिनुपर्छ । हामी यहूदीहरूलाई कुनै दया देखाउने छैनौँ ।’ उनको अर्को पोस्टमा संक्षिप्त तर अर्थपूर्ण रूपमा ‘युद्ध सुरु भएको छ’ भनी लेखिएको थियो, जसले अन्तर्राष्ट्रिय समुदायमा तरंग पैदा गरेको छ ।
ट्रम्पको उत्तेजक पोस्ट
यसअघि राष्ट्रपति ट्रम्पले खामेनीलाई लक्षित गर्दै लेखेका थिए, ‘हामीलाई राम्ररी थाहा छ कि तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् । उनी सजिलो निशाना हुन्, तर उनी अहिले त्यहाँ सुरक्षित छन् ।’ अर्को पोस्टमा उनले इरानलाई चेतावनी दिँदै लेखेका थिए, ‘हामी उनीहरूलाई मार्ने छैनौँ, कम्तीमा अहिले त होइन । तर हामी नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार होस् भन्ने पनि चाहँदैनौँ । हाम्रो धैर्य टुट्दै गएको छ ।’
यो पनि : इरानी आणविक केन्द्रमा हमला, खामेनीलाई ट्रम्पद्वारा आत्मसमर्पणको चेतावनी
इरान र इजरायलबीचको यो वाकयुद्ध तथा तनावको पछिल्लो शृङ्खला जुन १३ मा इजरायलले इरानको आणविक कार्यक्रमहरूमाथि आक्रमण गरेपछि सुरु भएको हो । उक्त आक्रमणपछि दुई देशबीचको शत्रुतापूर्ण सम्बन्ध थप बिग्रिएको छ र दुवै पक्ष एकअर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् । सामाजिक सञ्जालमा विश्वका दुई शक्तिशाली व्यक्तित्वहरूबीचको यो आरोप-प्रत्यारोपले मध्यपूर्वको संवेदनशील भूराजनीतिलाई थप अस्थिर बनाउन सक्ने विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।








