राष्ट्रपति रनिङ शिल्डको कबड्डीमा छात्रातर्फ सेमिफाइनल समीकरण पूरा

काठमाडौं । १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डीमा छात्रातर्पm सेमिफाइनल समीकरण पूरा भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिहीवार दोस्रो दिनको खेल सकिँदा सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो । समूह ‘ए’ बाट बागमती ६ अंकसहित विजेता र सुदूरपश्चिम प्रदेश चार अंक जोड्दै उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘बी’ बाट भने लुम्बिनी र कर्णालीले सेमिफाइनलमा स्थान बनाए । लुम्बिनीले चार अंक र कर्णालीले दुई अंक बटुल्दै शिर्ष दुई स्थानमा रहेका हुन् । शुक्रवार नै सेमिफाइनल र फाइनलका लागि प्रतिष्पर्धा हुनेछन् । छात्रमा भने लिगचरणका खेल पूरा भएका छैनन् ।

एथलेटिक्समा बने कुल ६ वटा कीर्तिमान

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा बिहीवार चार कीर्तिमानसहित कुल ६ वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।

तीन दिने खेलकुदमा एथलेटिक्सतर्पm कुल २६ स्वर्णका लागि प्रतिष्पर्धा भइरहेको छ । त्यसमा बिहीवार २७ वर्ष पुरानो कीर्तिमान सुधारसहित चार नयाँ कीर्तिमान बने । दुई दिनभित्र १८ स्वर्ण पदकको टुङ्गो लाग्दा ६ वटा नयाँ जुनियर (१८ वर्षभन्दा मुनि) राष्ट्रिय कीर्तिमान बनेका हुन् ।

अब अन्तिम दिन तथा शुक्रबार आठ स्वर्णको टुङ्गो लाग्नेछ । बिहीबार छात्र ज्याभ्लिन थ्रो, छात्रा आठ सय मिटर दौड र छात्र÷छात्राको चार गुणा चार सय मिटर रिलेमा कीर्तिमान बने । यी चार खेलाडीले कीर्तिमानबापत १० हजार र स्वर्ण पदकको पाँच हजार गरी कुल १५ हजार रुपैयाँ पाउनेछन् ।

यसअघि बुधवार वागमतीका प्रविण रानामगरले छात्र सय मिटर दौड र सुदूरपश्चिम प्रदेशकी संगीता विकले छात्रा चार सय मिटर दौडमा कीर्तिमान बनाएका थिए । दोस्रो दिन छात्र ज्याभ्लिन थ्रोमा झन्डै तीन दशकनजिकको कीर्तिमानमा सुधार भएको हो । लुम्बिनीका राहुल थारुले ज्याभ्लिन थ्रोमा २७ वर्षअघिको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान रचेका हुन् ।

राहुलले ५७.४० मिटर पर थ्रो गरे । यससँगै उनले २०५५ सालमा धीरेन्द्रजंग शाहको नाममा रहेको ५५.५० मिटरको कीर्तिमानलाई पछि पारेका हुन् । यसमा कर्णालीका सुशान्त नेपालीले रजत र सुदूरपश्चिमका लोकेश एडीले कांस्य पदक जिते ।
छात्रा आठ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारीले नयाँ कीर्तिमान बनाइन् । उनले दुई मिनेट १७.९ सेकेन्डको नयाँ समय निकालिन् ।

यस विधामा २०८१ सालमा सरिता खड्काको दुई मिनेट २८.५ सेकेन्डको उत्कृष्ट समय थियो । यस विधामा बागमतीकी भगवती खड्काले रजत र सुदूरपश्चिमकी संगीता विकले कांस्य पदक जितिन् । पहिलो दिन कीर्तिमान बनाएकी संगीताले यस विधामा भने उत्कृष्ट नतिजा ल्याउन सकिनन् ।

छात्र चार गुणा चार सय मिटर रिलेमा बागमतीले नयाँ कीर्तिमान बनायो । प्रविण रानामगर, नीरज थारु, हस्त सुनार र शन्तबहादुर दराई रहेको टोलीले कीर्तिमानी स्वर्ण जितेको हो । यससँगै प्रवीणको नाममा भने दुई कीर्तिमान रह्यो ।

यसअघि पहिलो दिन पनि उनले व्यक्तिगत स्पर्धातर्पm कीर्तिमान बनेका थिए । रिलेमा भने उनी सम्मिलित उक्त टोलीले तीन मिनेट ३०.९ सेकेन्डमा नयाँ समय निकाले । यसअघि २०८० सालमा चन्द्र बोहरा, अमित, कविर विक र सुकवीरको टोलीको नाममा तीन मिनेट ३१.० सेकेन्डको उत्कृष्ट समय थियो । गण्डकीले रजत तथा लुम्बिनीले कांस्य पदक जित्यो ।

यसै स्पर्धाको छात्रामा बागमतीले कीर्तिमान रच्यो । दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले चार मिनेट १२.८ सेकेन्ड समयको उत्कृष्ट प्रदर्शन गरे । यसअघि २०८१ सालमा चार मिनेट १७.२ सेकेन्डको कीर्तिमान थियो । जुन कीर्तिमान भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाले बनाएका हुन् ।

सुदूरपश्चिमले रजत र गण्डकीले कांस्य पदक जित्यो । छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३०.३२ मिटर थ्रो गरिन् । कोसीकी उर्मिला राईले रजत र बागमतीकी सिर्जना श्रेष्ठले कांस्य पदक जिते । छात्र आठ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले स्वर्ण पदकमा नाम लेखाए ।

उनले दुई मिनेट ०२.७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विकले रजत र लुम्बिनीका आयुश थारुले कांस्य पदक जिते । लङजम्पमा गण्डकीका प्रदीप महतोले स्वर्ण प्राप्त गरे । उनी ६.६९ मिटर पर जम्प गर्न सफल रहे ।

सुदूरपश्चिमका विवेक चौधरीले र बागमतीका दीपेन्द्र गिरीले कांस्य पदक पाए । यसै स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५.१८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत र सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य पदक जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =