स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो नेशन्स लिगको उपाधि

काठमाडौं । युइएफए नेशन्स लिगको उपाधि रोमाञ्चक पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले जितेको  छ। आइतवार राति म्युनिखमा सम्पन्न फाइनल खेलमा निर्धारित समय २-२ को बराबरीमा सकिएपछि पेनाल्टीमार्फत पोर्चुगल विजयी भयो ।

यो जितसँगै पोर्चुगल नेशन्स लिगको उपाधि दुई पटक जित्ने पहिलो राष्ट्र बन्न सफल भएको छ । यसअघि उसले २०१९ मा उपाधि उचालेको थियो ।

पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो पुनः निर्णायक सावित भए । खेलको ६१औं मिनेटमा उनले गोल गर्दै पोर्चुगललाई २-२ को बराबरीमा ल्याए । मार्क कुकुरेलालाई पछाडि पार्दै उनले नुनो मेंडेसको डिफ्लेक्टेड क्रसमा बललाई भलीमा जाली चुमाएका थिए । यो गोलपछि खेलमा कुनै थप गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।

स्पेनले खेलको २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो । पोर्चुगलको डिफेन्सले बल क्लियर गर्न नसकेको फाइदा उठाउँदै जुबिमेन्दीले गोल गरे । तर त्यो अग्रता लामो समय टिक्न सकेन । २६औं मिनेटमा नुनो मेंडेसले कुनाबाट गरेको शक्तिशाली प्रहारले स्पेनका गोलकिपर उनाई साइमनलाई पन्छाउँदै बराबरी गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा मिकेल ओयार्जाबालले पुनः स्पेनलाई अग्रता दिलाए । उनले गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा विजयी गोल गरेका थिए । तर दोस्रो हाफमा कप्तान रोनाल्डोले आफ्नो अनुभव र क्षमता प्रदर्शन गर्दै टोलीलाई पुनः खेलमा फर्काए ।

पेनाल्टी सुटआउटमा पोर्चुगलका गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज, नुनो मेंडेस र अन्ततः रुबेन नेभेसले गोल गरे । स्पेनका लागि मोराटाले गरेको पहिलो पेनाल्टी डिओगो कोस्टाले उत्कृष्ट रूपमा बचाए । यो जितसँगै पोर्चुगल नेशन्स लिगमा दुई पटक उपाधि जित्ने पहिलो राष्ट्र बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =