कविताः घामको खोजीमा

निश्चल थिइ गाउँको बिहान,
चुल्होको धुँवाले झ्यालमा कथा कोथ्र्यो।
बाउको चिया, आमाको हातमा लुगाको गाँठो,
र म — सपना काधमा बोकेर
निस्केँ —

‘केहि गर्छु’ भन्ने एउटै वाक्यले साथ दिएको थियो।
सानो त गाम थियो, तर आवाज ठूलै हुन्थ्यो —
‘के को नाटक हो यो केटालाई?’

‘गाउँ छोडेर शहर गएछ, अब ठुला कुरा गर्छ।’
‘जाने दे, घमण्डी भयो!’
तर म त

न त घमण्डी थिएँ
न नाटककार,
म त बस
कसैको साहसले उभिएको सपना थिएँ —
अझै भिजिरहेको, अझै टुक्रिएको।

शहरका भीडमा
मेरो नाम हरायो,
शब्दहरू गुमे
आशाहरू च्यातिए,
भोकसँग सम्झौता गर्नुप¥यो,
निन्द्रासँग सौदा,

र आँशुसँग आत्मीयता।

समाज भनेको किताबको पाना होइन रहेछ,
जहाँ म लेख्थेँ —
‘यात्रा कष्टकर छ तर म जीत्छु’,
समाज त नियालिरहन्छ,
तिमी लड्ने बेला हाँसो गर्छ,
र उठ्ने बेलामा
‘हामीले त पहिल्यै भनेका थियौँ’ भन्छ।

अनि घर —
घरले त ढोका थुन्ने होइन,
माया छोप्ने काम गर्छ।
बाउको मौनता
सकसको किला,
आमाको चिट्ठी
माया भिजेको आकाश।

त्यो बेला
म आफैसँग बोल्थेँ
‘तिमी एक्लै हैौ त के भयो?
जसले पर्खन्छ सफलता,
ऊ आफैले सिँढी बन्छ।
घाम आफै खोज्नुपर्छ,
छायाँ आफै हराउँछ।’

र आज

मेरो हरेक पाईला
मेरो सपना बनेको छ,
हिजोका ती आलोचना
मेरो हिम्मत बनेका छन्।
तिमी हेर्छौ भने आज म फरक देखिन्छु,

तर भित्र
उही ’केहि गर्छु’ भन्ने त्यो केटो बसिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =