सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

काठमाडौं । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाइँ भइसक्नेमा यस वर्ष सिँचाइ सुविधा अभाव, पहाडी क्षेत्रमा भइरहेको खण्ड वृष्टिलगायत कारणले रोपाइँ प्रभावित भएको हो ।
सिँचाइ अभावका कारण हालसम्म २५ प्रतिशत मात्र रोपाइँ सकिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले बताए । माथिल्लो भेगमा रोपाइँ सकिए पनि तल्लो बेँसी भेगमा धानका बीउ ब्याडमै थन्किएका उनले उल्लेख गरे । उनका अनुसार जिल्लामा कुल आठ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ ।
ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा ३१ हजार ५९६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जिल्लाको तल्लो भेगका कतिपय ठाउँमा भर्खरै रोपाइँ सुरु गरिएको छ भने केही ठाउँमा असार लागेसँगै धान रोप्न थालिएको थियो ।
जिल्लाका खाँदबारी नगरपालिकाभित्रका सेकाहा, पाङ्मा, मरुवा, हेलुवाबेँसी, चन्दनपुर, चेवाबेँसी, कल्चेबेँसी, पाङ्ठाबेँसी, पिप्लेबेँसी, माल्टाबेँसीलगायत क्षेत्रमा धानखेती गरिँदै आइएको सूचना अधिकारी राईले जानकारी दिए । उनका अनुसार मादी र धूपू क्षेत्रमा उत्पादन बढी हुन्छ ।
साथै मकालु गाउँपालिकाको हेदाङगना, पाँचखपन नगरपालिकाको वाना र होक्से तथा चैनपुर नगरपालिकाभित्रका भण्डारीडाँडालगायत क्षेत्रमा धानखेती गरिन्छ । यहाँ अट्टे, बेलगुठी, खुमलचार, राधाकृष्ण, सानोमसिना, कालधानलगायत जातका धानखेती गरिने सूचना अधिकारी राईले बताए ।








