राखेपद्वारा खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई आज खेल पोशाक प्रदान गरेको छ । राखेपले विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोशाक वितरण गरेको हो ।

कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाक वितरण गरिएको राखेपले जनाएको छ । राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले एक कार्यक्रमका बीच आज पोशाक वितरण गरे ।

उपाध्यक्ष श्रेष्ठले विशेष तयारी प्रशिक्षण सुरु गर्नु सकारात्मक काम भएको बताउँदै अब खेलाडीले एसियाली खेलमा आफूलाई प्रमाणित गर्ने बेला आएको धारणा राखे । कार्यकारी सदस्य श्रेष्ठले एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान स्थापित गराउनका लागि शुभकामना प्रदान गरे ।

हाङझाव एसियाडकी कीर्तिमानी रजत विजेता करातेकी एरिका गुरुङले प्रशिक्षणले खेलाडीमा ऊर्जा र आशा थपेको बताइन् । उनले लामो अवधिको प्रशिक्षण प्रभावकारी रहेको जनाउँदै एसियाली खेलकुदका लागि आफूहरू तयार रहेको उल्लेख गरिन् ।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पारा तेक्वान्दो, पारा स्विमिङ, पारा एथलेटिक्स, पारा ब्याडमिन्टन र पारा पावरलिफ्टिङलाई यसअघि पोशाक वितरण गरिसकेको जानकारी दिए । जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक हासिल गर्ने लक्ष्यसहित राखेपले विसं २०८० माघ १५ गतेदेखि मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 5 =