खेलकुदमन्त्रीले खेले खेल, नखेले नखेल भन्नुभयो– उसु खेलाडी

काठमाडौं । उसु खेलाडी दीपक हमालले हक अधिकारको विषयमा कुरा गर्न जाँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेले खेल नखेले नखेल भन्दै निरुत्साहित गरेको आरोप लगाएका छन् ।

दीपकसहित पाँच जना खेलाडीले आफूहरूमाथि खेलकुदमन्त्री चौधरीले अन्याय गरेको भन्दै बुधवार पत्रकार सम्मेलन गरेका थिए ।

सोही अवसरमा १३औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतासमेत रहेका दीपकले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने क्रममा लागेको खर्चको भुक्तानी मन्त्री चौधरीको ठाडो आदेशमा रोकिदिएको बताए ।

यसबारे कुरा गर्न जाँदा मन्त्री चौधरीबाट आफूहरूले सो किसिमको जबाफमा पाएको उनको आरोप छ । खेलाडीहरूले रोकेको भुक्तानी तत्काल निकासाका लागि पनि अनुरोध गरेका छन् ।

अन्तर्राष्ट्रिय पदकधारी दीपकसँगै विजय सिंजाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगरले गत वर्ष अक्टोबरमा जापानको योकोहामामा सम्पन्न थाउलु विश्वकपमा सहभागी हुने क्रममा उक्त खर्च लागेको उल्लेख गरे ।

सोही रकम राखेपका सदस्यसचिव टंकलाल घिसिङले भुक्तानी दिन प्रक्रिया अगाडि बढाउँदा मन्त्री चौधरीको ठाडो आदेशमा रोकिएको खेलाडीले बताएका छन् । राखेपकै प्लेन टिकटमा आफूहरू त्यहाँ गएको तर बसोवास खर्च तिर्नुपर्ने बारे आयोजकले पछि मात्र जानकारी गराएको खेलाडीको भनाइ छ ।

सोही रकम भुक्तानी नगरेकाले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी हुन नपाएको खेलाडीले गुनासो गरेका छन् ।

नेपालमा उसु खेलको सामनान्तर दुई संघका छन् । शैलश कर्माचार्यको नेतृत्वमा नेपाल उसु संघ छ । जसलाई अदालत र राखेपले मान्यता दिएको छ । तर, अर्को संघको अध्यक्षमा वीरबहादुर तामाङ र महासचिवमा लाक्पा लामा छन् । यो संघ अवैधानिक पनि हो ।

तर, यो संघलाई सरकारले नै अवैधानिक मानेको जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीको साथ छ ।

अन्तर्राष्ट्रिय उसु महासंघको मान्यता रहेको बताइएको छ । अवैधानिक ठहर गरेको उसुका संघका महासचिवमा लाक्पाकै नेतृत्वमा नेपाली खेलाडी जापानमा गएका थिए ।

सोही कारण पनि मन्त्री चौधरीले खेलाडीको भुक्तानी रोकेको अर्को पक्षले जनाएको छ । मन्त्रीले पनि दुई संघ मिलेर आएको खण्डमा मात्र रकम भुक्तानी दिने बताएको खेलाडीले उल्लेख गरे । तर, संघ मिल्ने आफूहरूको हातमा नरहेको भन्दै खेलाडीहरूले भुक्तानी पाउनुपर्ने माग गरेका हुन् ।

गत वर्ष नै अप्रिलमा चीनको जियानज्यिनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङबाट बिदाई भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो । सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो ।

परिषदबाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोवासको खर्च बिलअनुसार भुक्तानीको प्रकृया अन्तिम चरणमा पुगेको अवस्थामा मन्त्री चौधरीले रोकेको खेलाडीहरुले आरोप लगाएका छन् । मन्त्री चौधरीको खेल र खेलाडीप्रति सकारात्मक नरहेको गुनासो गर्दै खेलाडीहरूको आरोप छ ।

भुक्तानीमा सहजीकरणका लागि अनुरोध गर्न दुई पटक मन्त्रालयमै गएर मन्त्री चौधरीलाई भेट्दा खेलाडी आपैmँले लागेको खर्च तिर्नुपर्ने बताएको खेलाडीहरुले उल्लेख गरे । मन्त्री चौधरीले आफूहरूलाई बाहिर खेल्न जानु या नजानुसँग मलाई कुनै मतलब छैन र जसले पठाएको हो, उसैलाई भन्न जानु भनेको खेलाडीहरुको आरोप छ ।

नेपालबाट प्रतिभावान खेलाडीहरू प्रत्येक दिन विदेश पलायन हुनुमा सम्पूर्ण खेलकुदको अभिभावकत्व ग्रहण गर्नुपर्ने मन्त्रालयको नेतृत्वबाट हुने यस्तै अपमानजनक व्यवहार मुख्य कारण रहेको खेलाडीहरुको जिकिर थियो ।

उनीहरूले खेलको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मिहनत गरे पनि आफूलाई अपहेलना भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fourteen =