नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप सुरु, सदभावलाई अग्रता

काठमाडौं । ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ६–अन्डर ६६ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन् ।

उनले नेपलका वाङ्गचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारे । वाङ्गचेन ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहेका छन्। नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बङ्गलादेशका मोहम्मद साहाब उद्दीन २–अन्डर ७० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् ।

इभन–पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ र श्रीलंकाका रेशन अलगामाले छैटौ स्थान बाँडे। यस्तै नेपालका टासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निम दोर्जी तामाङ तथा भारतका भिभान उभयाकरले २–ओभर ७४ को स्कोरमा संयुक्तरुपमा आठौं स्थानमा पहिलो दिनको खेल सकाएका छन् ।

पहिलो दिनका लिडर सदभावले बोगी रहित फ्रन्ट नाइन खेले । पहिलो, सातौं र आठौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि ब्याक नाइनमा सदभावले ११औं, १२औं, १४औं र १८औं होलमा बर्डीको सफलता प्राप्त गरे । १३औं होलमा भने एक सट खेर फाले। उनले ब्याक नाइन पनि ३–अन्डर ३३ खेले ।

वाङ्गचेनले पहिलो, छैटौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । यसपछि १०औं र १२औं होलमा पनि एक–एक सट बचाए । १५ औं होलमा बोगीको समाना गरेसँगै ब्याक नाइन १–अन्डर ३५ मा पूरा गरे ।

महिलातर्फ भारतकी अनन्थी विवेक १–अन्डर ७१ सहित शीर्षस्थानमा रहन सफल भएकी छिन्। उनले नेपालकी तारा कार्की चित्रकारलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारिन्। ताराले ८–ओभर ८० खेलिन् ।

अभान्थीले फ्रन्ट नाइनमा ३–अन्डर ३३ र ब्याक नाइनमा २–ओभर ३८ खेलिन्। उनले तेस्रो, पाँचौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरिन् । दोस्रो र छैटौं होलमा बोगी खेपिन्। ब्याक नाइनमा भने १६औं होलको बर्डी विरुद्ध १२ औं, १५ औं र १८औं होलमा एक–एक सट खेर फालिन् ।

नेपालकी ताराले पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाइन् । तर ब्याक नाइनमा बिर्सनलायक प्रदर्शन गरिन् । उनले ब्याक नाइनमा कुल छ वटा होलमा बोगी खेप्दा १२औं होलमा ट्रिपल बोगी प्रहार गर्न पुगिन् । यो सँगै ब्याक नाइन ९–ओभर ४५ मा पुरा गर्न बाध्य भइन् ।

यसैगरी भारतकी दिया क्रिस कुमार ८४ स्कोर सहित तेस्रो तथा नेपालकी एन्जिला योञ्जन (९१) र अभानी राई (९४) का साथ क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन् ।

यु–१६ तर्फ रूबेन थापा ८० स्कोर सहित शीर्षस्थानमा रहे । ९० स्कोर बनाएका दीप्सन लामा दोश्रो र ९३ स्कोर सहित दिपेश श्रेष्ठ तेस्रो स्थानमा रहे ।

पुरूषको टिम स्पर्धामा नेपाल ’ए’ टिमका सदभाव आचार्य र राहुल विश्वकर्मा १ सय ३६ स्कोरका साथ पहिलो स्थानमा रहेका छन् । नेपाल ’बी’ टिमका टासी छिरिङ र वाङ्गचेन ढोन्डुप १ सय ४२ स्कोरसहित दोस्रो स्थानमा रहेको छ ।

बङ्गलादेशका सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन १ सय ४५ स्कोर सहित तेस्रो स्थानमा रहेको छ ।

आज बिहान राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । तीन दिने ५४–होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एशियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागीता रहेको छ ।

व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ । सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन । यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ ¥याङ्किङ (डब्लुएजीआर) द्वारा मान्यता प्राप्त हो । प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले ¥याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद्, वागमती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटल एण्ड स्टुडियो सुइट्सले सहयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =