३२ वर्षे उमेर हदले अखिलमा सन्नाटा, नरेश रोकिँदा प्रकाशलाई हाइसन्चो !

काठमाडौँ । जेठ ११ गते बसेको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठकले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गर्‍यो । पार्टी महासचिव शङ्कर पोखरेलको प्रस्तावमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाए ।

महासचिव पोखरेलको प्रस्ताव सचिवालय बैठकले पारित गर्‍यो । कतिपय नेताहरूले असहमति जनाए पनि प्रधानमन्त्री ओली टसमस भएनन् । यही महिना हुन लागेको अखिलको महाधिवेशनबाटै ३२ बर्षे उमेर हद लगाउने निर्णय पार्टीले नै गरेपछि अखिलका कतिपय नेताहरू असन्तुष्ट बनेका छन् ।

महाधिवेशनको तयारीमा जुटेका नेताहरू पार्टीको निर्णयपछि सामाजिक सञ्जालमा आफ्ना असन्तुष्टि जाहेर गरिरहेका छन् । उनीहरू महाधिवेशन आउन केही दिन मात्रै बाँकी रहेको समयमा पार्टीले उमेर हद लगाउने निर्णय गरेर अन्याय गरेको बताउँछन् ।

तर, पार्टी महासचिव शङ्कर पोखरेलले भने पार्टी सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न भन्दै सर्कुलर नै पठाइ सकेका छन् । महासचिव पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही २५ जेठदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् ।

परिपत्रमा भनिएको छ, ‘३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरू मात्र विधानको व्यवस्थाअनुरूप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरू अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।’

परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीमा लागू हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ ।

महासचिवको सर्कुलरले अनेरास्ववियुको नेतृत्व हाँक्न तम्तयार भएका नेताहरूले असन्तुष्टि जनाइरहेका छन् । अनेरास्ववियुका हालका महासचिव रोकाया त पार्टीले आफूलाई रोक्न उमेर हद लगाएको आरोप लगाउँछन् । उनले आफ्नो ऊर्जावान् समय अनेरास्ववियुमा खर्चिएको तर, पार्टीले आफूलाई नेतृत्वमा पुग्नबाट रोक्नका लागि षडयन्त्र गरेको उनी बताउँछन् ।

‘सबै साथीहरू महाधिवेशनको तयारी गरिरहेका बेला पार्टीले यस्तो निर्णय गर्‍यो, पार्टीको यो निर्णयले राम्रो सन्देश जाँदैन,’ उनले मकालुखबरसंग भने, ‘मलाई रोक्नका लागि नै पार्टीले षडयन्त्र गरेको हो, यो निर्णय सच्याउनुपर्छ ।’

राष्ट्रिय महाधिवेशनको सबै प्रक्रिया टुङ्गो लागेर नेतृत्व चयन गर्न मात्र बाँकी रहेको बेला पार्टीले दिएको निर्देशन बेठिक भएको उनी बताउँछन् । ‘आफूले जित्ने अवस्था नदेखेपछि केही साथीहरू मेरा विरुद्ध लागे । यस्ता साथीहरूलाई पार्टीले पनि साथ दियो, यो पराजित मानसिकताको उपज हो,’ रोकायाले भने ।

अनेरास्ववियुले संगठनका उपाध्यक्ष र महासचिवमध्येबाटै प्रतिस्पर्धा गरेरै अध्यक्ष चयन गर्दै आएको छ । तर, उमेर हद लगाइसकेपछि अब उपाध्यक्ष र महासचिव चुनाव लड्न पाउने छैनन् । हालका पदाधिकारीमा रहेका धेरै नेताहरूको उमेर ३२ वर्ष कटिसकेको छ ।

उमेर हदको निर्णय कार्यान्वयन भए वर्तमान उपाध्यक्षहरू मर्यादा विष्ट, गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, महासचिव नरेश रोकाया, सञ्जीव धिताल, कोषाध्यक्ष सङ्गम अर्याललगायत ठुलो पङ्क्ति सङ्गठनबाट बिदा हुनेछ । त्यसपछि अहिलेका पदाधिकारीमध्ये सचिवहरू डा. सुजन कडरिया, प्रकाश पौडेल, दीपक धामी, अञ्जना शिवाकोटी र आरती भट्टराई मात्र योग्य हुनेछन् ।

अनेरास्ववियुका चिरपरिचित र लामो यम सङ्गठनमा योगदान दिएका नेताहरू उम्मेदवार नै बन्न नपाउने भएपछि अब अखिलको नेतृत्व कसले सम्हाल्छन् भन्ने कौतुहलता छ । वर्तमान अनेरास्ववियुका अध्यक्ष समिक बडाल भने हालका प्रवक्ता तथा सचिव प्रकाश पौडेललाई अध्यक्ष बनाउन चाहन्छन् । जसका लागि उनले पार्टी अध्यक्ष ओली र महासचिव पोखरेलसँग लबिङ गरिसकेका छन् । यस्तै, रोकायाले डा. सुजन कडरियालाई नेतृत्वमा उठाउने तयारी गरिरहेका छन् ।

प्रकाश पौडेललाई नै अध्यक्ष बनाउन अनेरास्ववियुमा उमेर हद लगाइएको कतिपय नेताहरू आरोप लगाउने गर्दछन् । अनेरास्ववियुको मुख्यालय रहेको रातो घरमा सहभागी हुने अधिकांश नेताहरू पनि प्रकाश पौडेल नै अध्यक्ष बन्ने दाबी गर्छन् ।

अखिलका केन्द्रीय सदस्य गगनसिंह बस्नेत उमेर हदको बहस हुनु स्वाभाविक भए पनि अहिले नै यो निर्णय कार्यान्वयन गर्न नहुने बताउँछन् । तर, पार्टीकै निर्णय भएकाले यसलाई नकार्न नसकिने उनको भनाई छ ।

उनले उमेर हदको निर्णय कार्यान्वयन भए अखिलमा लामो समय योगदान दिएका नेताहरूको अवमूल्यन हुने बताए । ‘उमेर हदको विषयमा बहस र चर्चा हुनु स्वाभाविक हो । तर, महाधिवेशनको मुखमै यस्तो निर्णय गरेर विद्यार्थी नेताहरूको मनोबल कमजोर पार्नु राम्रो होइन’, उनले भने ।

यता, एमालेका युवा नेता तथा अनेरास्ववियुका पूर्व उपाध्यक्ष डिबी साउँद भने सङ्गठनमा उमेर हद लाग्नु राम्रो भएको बताउँछन् । उनले काँग्रेस, माओवादी लगायतका विद्यार्थी सङ्गठनमा पनि उमेर हद लगाएको बताउँदै अनेरास्ववियुमा उमेर हद लाग्नु स्वाभाविक रहेको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने धारणा राखे ।

‘अन्य पार्टीका सङ्गठनमा पनि उमेर हद लागेको छ, हाम्रोमा लाग्नु पनि राम्रो हो,’ उनले भने, ‘यसलाई कार्यान्वयन गरेर लैजानुपर्छ, विवाद गर्न जरुरी नै छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =