कर्मठताको प्रेरणादायी कथा : ७० वर्षको उमेरमा पनि काम गरेर थाकिनन् पार्वती

काठमाडौँ । नगरकोटमा एक वृद्ध महिला बाटोमा काँक्रो बेचिरहेकी भेटिइन् । उनी सडक छेउमा बोरा ओछ्याएर मुहानपोखरी र रानीझुला-झोलुङ्गे पुल घुम्ने आउने पर्यटकहरूलाई काँक्रो बेच्दै थिइन् ।
हामीले उनी नजिकै पुगेर काँक्रोको मूल्य सोध्यौँ । उनले एक चिरा काँक्रोको २० रुपियाँ पर्ने बताइन् । त्यसपछि ती आमाले रातो खुर्सानी र टिमुरको अचार दलेर एक-एक चिरा काँक्रा हामीलाई दिइन् ।
नगरकोट वडा नं. ६ की ७० वर्षीय पार्वती बास्तोला परिवारमा एक्लै बस्दै आएकी छन् । उनका श्रीमानले दोस्रो विवाह गरे । छोरा-बुहारी पनि अमेरिका पसे । यसरी उनी एक्लै बस्दै आएको पनि १५-२० वर्ष भइसकेको उनी बताउँछिन् ।
छोराबुहारीले बेलाबेलामा पैसा पठाए पनि आजसम्म उनले आफ्नो कर्म गर्न भने बिर्सिएकी छैनन् । उनी एकाबिहानै उठेर घर-आँगन बढार्छिन् । पूजा-आजा गर्छिन् । बाख्रालाई खोले, घाँस-दाउरा र खानापानमा उनको बिहानी बित्छ । त्यसपछि मकै, काँक्रा र तरकारीहरूसँगै खेतबारीमा उनी दिनभरि नै व्यस्त रहने बताइन् । उनले आफैले बारीमा फलाएको काँक्रा नै आफूले बेच्न ल्याएको बताइन् ।
उनले भनिन् ‘स्थानीय लोकल काँक्रो हो यो । मैले आफै रोपेको । ४/५ जालो मात्रै छ । धेरै गर्न सक्दिन ।’
त्यसदिन उनी घर नजिकैको सडकमा पहिलो पटक काँक्रो बेच्न निस्किएकी रहिछन् । उनले दिउँसो १२ बजेदेखि ४ बजेसम्म ४ सयको व्यापार गरेको सुनाइन् ।
आजभोलि नगरकोटमा धेरै पर्यटकहरू आउँछन् । त्यसैले बारीको काँक्रो र फुर्सदको सदुपयोग गर्न आफू व्यापारमा निस्किएको उनले बताइन् । भनिन् ‘फल्यो, माया लाग्यो, त्यही भएर बेचेको । फुर्सदको सदुपयोग गर्न काँक्राको व्यापार गरेको नि ।’ उनले फेरि थपिन् ‘चोर्न जान पो हुँदैन त । दुःख गरेर खान किन लाज मान्नु भनेरै यस्तो बाटामा बस्या क्या ।’
उनले अन्य वृद्धवृद्धाहरूलाई सरकारले भत्ता दिए पनि आफूले सकेसम्म काम गरेर नै खानुपर्ने सुझाव दिन्छिन् । यदि नसकेको घडीमा भने ‘छोरा बुहारीले हेर्लान् कि’ भनेर उनले अनिश्चितताको भाव व्यक्ति गरिन् । ‘एक्लै बस्दा समस्या हुँदैन’ भन्ने प्रश्नमा उनले जवाफ दिइन् ‘कहाँ समस्या नहुनु ?, अस्ति बिरामी भएर मरेर बाचेँ म । त्यस्तो समस्या हुन्छ । हेर्दिने मान्छे हुदैँन् । पानी तताएर दिने कोही छैन । छिमेकीले पनि हेर्दैनन् । बुढोले छोड्यालाई कस्तो हेला गर्छ गाउँघरकाले ।’
उनले श्रीमानले छोडेका महिलालाई समाज हेला गर्ने भन्दै दुःखेसो पोखिन् । पार्वती बास्तोला हाम्रो समाजका त्यस्ता पात्र हुन्, जो उमेरले बुढो भएपनि सोच, आत्मविश्वास र हिम्मतले जवानै छिन् । उनी युवावर्गहरूका लागी एक प्रेरणाका पात्र हुन् । उनको जीवनले हामीलाई ‘उमेरले होइन, विचारले मान्छे जवान हुन्छ ।’ भन्ने कुरा सिकाएको छ ।








