सुरु भयो स्वाँतका भिरमा यसयामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महशिकार सुरु भएको छ ।

स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रुपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् ।

स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।

डोरीमा झुण्डीएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए ।

अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए ।

महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् ।

स्वाँतबासीहरु घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरेभिर गएका थिए । महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ् नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो ।

गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपाली पाँच गुणा कम मह उत्पादन भएको छ ।

केही दिनदेखिको बर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए । छहरीको भिरमा ११ वटा गोला थियो ।

बुधवार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।

खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फुल भिरमौरीको आहरा हो ।

हिउँदमा न्यानो खोज्दै बेशी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाईसराई गर्छन् ।

महशिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौँका सागर पराजुलीले रसीमा झुण्डीएर भिरबाट मह निकालेको साहासिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए ।

‘मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुण्डिएर मह निकालेको पहिलो पटक देख्दा शरिरनै जिरिङ्ग भयो,’ उनले भने ‘भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।’

भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् ।

एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनु पर्छ ।

जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ गरिन्छ ।

चौध वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाईबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए । ‘आठ दश वर्ष अघिसम्म सिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,’ उनले भने ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।’

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवद्र्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्त्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोशेलीका रुपमा लैजाने गर्छन् ।

स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई तीन बर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ ।

स्वाँतको भिरमहको मूल्य प्रतिलिटर रु. तीन हजार कायम गरिएको छ । बसाई सरेर बेनी, पोखरा, काठमाडौ, चितवन गएकाहरू मह सिकार गर्ने समयमा स्वाँत आउँछन् ।

पोखरामा बस्दै आउनुभएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताए । स्वाँतमा बस्ती बसे देखिनै महशिकार गर्ने चलन रहेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले महशिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यावसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए ।

महशिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रुपमा प्रसोधन र भण्डारण गरि बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =