चर्चित नृत्याङ्गना नोरा फतेही सामाजिक अभियानका लागि नेपालमा

काठमाडौं । भारतीय चर्चित नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेही नेपाल आएकी छिन् । शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को च्यारिटी कार्यक्रममा सहभागी हुन फतेही नेपाल आइपुगेकी हुन् ।

उक्त च्यारिटी कार्यक्रम राजधानीको बौद्धस्थित होटल हायातमा आयोजना हुँदैछ, जसमा नोरा फतेहीले आफ्ना विश्वभर चर्चित गीतहरूमा विशेष नृत्य प्रस्तुत गर्नेछिन् । उनका “दिलबर दिलबर”, “ओ साकी साकी”, “कुसु कुसु”, “नाच मेरी रानी”, र “स्नेक डान्स” जस्ता गीतहरूमा हुने प्रस्तुतिले नेपाली दर्शकलाई पनि उत्तिकै मोहनी लगाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नोरा फतेहीसँगै नेपालका चर्चित कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहनेछ । गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्य प्रशिक्षक समर्पण लामा, र भ्वाइस अफ नेपाल सिजन ६ का उत्कृष्ट प्रतिस्पर्धीहरू इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, र प्रशेस पाण्डे लगायतले पनि सांगीतिक प्रस्तुति दिनेछन् ।

कार्यक्रम व्यवस्थापक तथा आयोजक मनिष कार्कीका अनुसार नोरा फतेही नेपालको सांस्कृतिक सम्पदा र ऐतिहासिक स्थलहरूको भ्रमणमा पनि सहभागी हुने कार्यक्रम रहेको छ । उनले बसन्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, र अन्य पुरातात्विक स्थलहरूको अवलोकन गर्नेछिन् ।

नोरा फतेहीका साथ करिब २० जना व्यावसायिक नृत्य समूह पनि नेपाल आइसकेका छन् । उनीहरूले सामूहिक रूपमा स्टेज प्रस्तुति दिँदै कार्यक्रमलाई जीवन्त बनाउनेछन् ।

ह्युमन रेस्पेक्ट नेपालले शिक्षा, स्वास्थ्य र आधारभूत मानव अधिकारको पहुँचबाट वञ्चित बालबालिकाको हितमा काम गर्दै आएको  छ। यो च्यारिटी कार्यक्रममार्फत उठेको रकम संस्था मार्फत आवश्यक सहयोगमा प्रयोग गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 2 =