युद्ध अन्त्यको प्रयास : जेलेन्स्की पनि पुटिनसँग वार्ताका लागि तयार

काठमाडौं । युक्रेन र रुसबीच लामो समयदेखि जारी युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अघि बढेको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि सहमति जनाएका छन्। आगामी बिहीबार टर्कीको इस्तानबुलमा दुवै नेताबीच प्रत्यक्ष भेटवार्ता हुने सम्भावना रहेको छ।

जेलेन्स्कीको यो घोषणापछि युद्ध अन्त्यको आशा पुनः जागृत भएको छ। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “मान्छे मरिरहनु राम्रो होइन। म बिहीबार इस्तानबुलमा पुटिनलाई पर्खिरहेको हुनेछु।”

यो अभिव्यक्ति अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसको प्रत्यक्ष वार्ता प्रस्ताव स्वीकार गर्नुपर्ने भनाइ सार्वजनिक गरेपछि आएको हो। ट्रम्पको भनाइले नयाँ कूटनीतिक मार्ग खोल्ने संकेत दिएको राजनीतिक विश्लेषकहरूको धारणा छ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युद्धविराम लागू नभएसम्म वार्तामा नबस्ने अडान लिएका थिए। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय दबाब र युद्धले सिर्जना गरिरहेको मानवीय संकटका कारण उनले लचिलो र व्यवहारिक नीति अवलम्बन गरेका हुन्।

गत शनिबार युक्रेनको राजधानी किभमा ‘इच्छुकहरूको गठबन्धन’ (Coalition of the Willing) नामक समूहको बैठक सम्पन्न भएको थियो। बैठकपछि युरोपेली राष्ट्रहरूले सोमबारदेखि नै युद्धविराम लागू गर्नुपर्ने माग गरेका थिए। त्यसको केही समयमै रुसी राष्ट्रपति पुटिनले सिधा वार्ताको प्रस्ताव अघि सारेका थिए।

पुटिनले शनिबार साँझ पहिलोपटक युद्ध अन्त्यको गम्भीर प्रस्ताव सार्वजनिक गरेका थिए। **“स्थायी शान्तिको दिशामा यो पहिलो कदम हो,”** पुटिनले भनेका छन्।

जेलेन्स्कीले पनि वार्ताको दिनअघि नै रुसले युद्धविरामको संकेत दिने अपेक्षा व्यक्त गरेका छन्। विश्लेषकहरूका अनुसार, इस्तानबुल वार्ता सफल भएमा पूर्वी युरोपमा शान्ति स्थापनातर्फ निर्णायक मोड आउन सक्ने सम्भावना छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =