सरकारका राम्रा देखेर प्रचण्डमा पीडा र छटपटी बढ्यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गरेका छन् । उनले प्रचण्डको पछिल्ला अभिव्यक्तिलाई कुण्ठा बाहेक केही नभएको टिप्पणी गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत पोखरेलले सरकारको कार्यसम्पादनको बचाउ गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डको आलोचना गरेका हुन् । उनले लेखेका छन्, ‘तथ्यहरू एकातिर छन् भने तपाईंको बोली अर्कोतिर -यसले तपाईंमा कुण्ठा मात्र देखाउँछ ।’
पोखरेलका अनुसार, वर्तमान सरकारले प्रचण्ड नेतृत्वको सरकारको तुलनामा राजस्वमा उल्लेख्य वृद्धि, विदेशी मुद्राको सञ्चिति अभिवृद्धि र सोधनान्तर स्थितिमा बचत हासिल गरेको छ । उनले लेखेका छन्, ‘निर्माण व्यवसायीलाई तपाईँको सरकारले तिर्न नसकेको भुक्तानी प्रदान गरिएको छ। ठप्प रहेका ठूला योजनाहरू जस्तै पोखरा-मुग्लिङ र गैँडाकोट-बुटवल सडक निर्माणमा तीव्रता आएको छ ।’
पोखरेलले सरकारको कानुनी सुधार प्रयास, निवेशमैत्री वातावरण र विना हस्तक्षेप कानुन कार्यान्वयनको अवस्था उल्लेख गरेका छन् । उनले भूकम्प तथा बाढी पीडितका आवास निर्माणका लागि स्रोतको व्यवस्था, बैंकमा तरलता वृद्धि, ब्याजदरमा गिरावट, र लगानी प्रवाहमा सुधार भएको जिकिर गरेका छन् ।
पोखरेलका अनुसार, सरकार भूमि समस्या समाधानको दिशामा पनि सक्रिय छ र राजनीतिक स्थायित्वको आधार बलियो हुँदै गएको छ । उनले प्रचण्डप्रति तिखो व्यङ्ग्य गर्दै भनेका छन्, ‘यिनै कारणले तपाईंको पीडा र छटपटी बढेको हो, होइन र ?’








