भारतमा रहेका नेपालीको सुरक्षामा सरकार लागिपरोस् : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तत्काल गम्भीर कूटनीतिक पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा पोस्ट गर्दै महामन्त्री शर्माले भारत र पाकिस्तानबीच चर्किँदो सैन्य तनावका बीच त्यहाँ रहेका नेपालीहरूको जीवन जोखिममा परेको उल्लेख गर्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘भारत र पाकिस्तानमा हजारौं नेपाली विद्यार्थी अध्ययनरत छन् भने लाखौं नेपालीहरू श्रम तथा व्यवसायमा संलग्न छन् । अहिलेको युद्धजन्य परिस्थितिले उनीहरूको जीवन खतरामा परेको छ,’ शर्माले लेखेका छन् । उनले कश्मिरमा भएको आतंकवादी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्युको स्मरण गर्दै राज्यलाई गम्भीर पहल गर्न आग्रह गरेका हुन् ।
‘कश्मिरको आतंकवादी हमलामा हाम्रा युवा सुदीप न्यौपाने मारिएको घटना अझै ताजा छ । प्रधानमन्त्रीज्यू, कृपया त्यहाँ रहेका नेपालीहरूको जीवन रक्षामा अविलम्ब गम्भीर पहल गरियोस्,’ शर्माको भनाइ छ।
पछिल्लो समय भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ । गए राति मात्रै दुई देशबीच ड्रोन र मिसाइल हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस्तो परिस्थितिमा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाको विषयलाई लिएर सरकारले स्पष्ट र प्रभावकारी रणनीति बनाउनुपर्ने आवाज उठेको हो ।








