भारतको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रिसाको मृत्युबारे छानबिन गर्न सभामुखको निर्देशन

सरकारलाई कूटनीतिक संवाद र दीर्घकालीन सुरक्षाका उपाय सुनिश्चित गर्न आग्रह

काठमाडौँ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको रहस्यमय मृत्युको विषयमा प्रतिनिधिसभामा गम्भीर चासो व्यक्त गरिएको छ । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले उठाएको प्रश्नपछि सभामुख देवराज घिमिरेले घटनालाई गम्भीर र राष्ट्रको संवेदनशीलताको विषय भन्दै सरकारलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले सरकारलाई भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन र मृतक छात्राको परिवारलाई आवश्यक न्यायिक सहयोग उपलब्ध गराउन स्पष्ट निर्देश दिएका छन् । उनले भने, ‘उज्यालो भविष्यको सपना बोकेर अध्ययनका लागि विदेश गएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग गाँसिएको गम्भीर विषय हो । त्यसैले यसप्रति सरकारले गहिरो चासो लिनुपर्छ ।’

यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्रा प्रकृति लम्सालको समेत रहस्यमय मृत्यु भइसकेको पृष्ठभूमिमा प्रिसा साहको निधनले थप शंका र त्रासको स्थिति उत्पन्न गरेको छ । नेपाली विद्यार्थीहरूका सुरक्षाका सवालमा सरकार उदासीन रहेको भन्दै सांसदहरूले पनि आलोचना गरेका थिए ।

सभामुखले विदेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू गर्न सरकारलाई अपिलसमेत गरेका छन् । उनले भने, ‘सरकारले विदेशमा रहेका विद्यार्थीहरूलाई आवश्यक संरक्षण, सहयोग र सहज वातावरण प्रदान गर्न रणनीतिक तयारी गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =