गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेन : धनराज गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताए । गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए । सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरूले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ ।
उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानुन निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भुमिका खेल्नुपर्ने बताए ।
उनले भने ‘हामीले गैरआवासीय नेपाली नागरिकता त वितरण गरिरहेका छौँ । तर हामीले गैरआवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागरिकता नागरिकता जस्तैको अनुभव गर्न पाउनुभएको छैन साथीहरूले । मैले बुझेको । हुन त पाइसक्नुभएका साथीहरूले कस्तो अनुभव गर्नुभएको छ आफ्नो ठाउँमा होला । तर मैले बुझ्दै गर्दा अनुभव गर्दाखेरि जसले गैरआवासीय नागरिकता लिइसक्नुभएको छ उहाँहरुले त्यसको खासै अनुभव गर्न पाउनुभएको छैन व्यवहारमा । किनभने उदाहरणका लागि गैरआवासीय नागरिकता लिनु हुन्छ अनि यहाँ एउटा टुक्रा जग्गा लिनुपर्यो भने त्यो नागरिकताले काम गर्दैन, त्यसमा परराष्ट्र मन्त्रालय जाऊ, भूमिसुधार मन्त्रालय जाऊ भन्छ । अनि कहाँ घुम्ने हो ? एक टुक्रा जग्गा लिन त यति दुःख हुन्छ भने ठूलो उद्योग खोल्न खोज्यो भने के होला हालत ? हामी भन्छौँ गैरआवासीय नेपालीलाई यहाँ आउनुहोस् उद्योग धन्दा खोल्नुहोस् तर अर्कोतिर समस्या छ । सानोतिनो काम गर्न पनि उताबाट यता जाऊँ भन्छ यताबाट उता जाऊ भन्छ । त्यसकारण यस्ता विषयहरू पनि यहाँ निश्चित रुपमा छलफल हुनेछ । हामीले गैरआवासीय नेपालीहरूलाई लगानीमैत्री वातावरण बनाउनु आवश्यक छ हामीले । लगानीमैत्री कानुन बनाउन कुनकुन कहाँ छलफल गर्नुपर्ने हो गरौँ ।’
उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानुन निर्माण गर्न आवश्यक रहेको बताए ।








