जनमत र नाउपाबीच एकता घोषणा : सीके राउत कार्यकारी अध्यक्ष

काठमाडौं । लामो समयदेखि छलफलमा रहेका दुई राजनीतिक दल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, अन्ततः आज (बुधबार) एकीकृत हुने भएका छन् । करिब दुई वर्षदेखि चलिरहेको एकता प्रयास आज औपचारिक रुपमा सम्पन्न हुँदैछ ।

एकीकरण घोषणा कार्यक्रम काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिएको छ । कार्यक्रममा दुवै पार्टीका शीर्ष नेता, कार्यकर्ता तथा सबै तहका संगठनहरूको सहभागिता रहनेछ।  यसअघि दुई दलबीच कार्यगत एकता कायम गर्न ‘मोर्चा’ गठन गरिएको थियो, जसले एकता प्रक्रियालाई मूर्तरूप दिन सहयोग पुर्‍याएको थियो ।

नवगठित पार्टीको नाम नागरिक जनमत राखिनेछ । नयाँ पार्टीको कार्यकारी अध्यक्षमा डा. सीके राउत, संरक्षकमा रेशम चौधरी, र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको  छ। संरक्षक रेशम चौधरी वरीयतामा पहिलो स्थानमा रहनेछन्, त्यसपछि क्रमशः राउत र श्रेष्ठको स्थान रहनेछ ।

पार्टी एकतासँगै संघीय संसदमा नागरिक जनमत पार्टीको उपस्थिति १० सिट पुगेको छ। हाल जनमत पार्टीसँग ६ र नागरिक उन्मुक्तिसँग ४ सिट छन् । केन्द्रीय समिति गठनमा पनि समान प्रतिनिधित्व सुनिश्चित गर्दै ५०-५० प्रतिशत सदस्य रहने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *