दाउन्नेमा वैशाख ३१ सम्म राति सवारी आवागमन बन्द


नवलपरासी । नारायणगढ-बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमनमा रोक थप गरिएको छ । अब आगामी वैशाख ३१ गतेसम्म प्रत्येक रात ११ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ ।
यसअघि वैशाख १५ गतेसम्म मात्र आवागमन रोकिएकोमा काम नसकिएको कारण यो समय थपिएको हो । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार, भित्तातर्फको कटिङ कार्य तथा अन्य निर्माणकार्य वर्षाअघि सक्नुपर्ने भएकाले रातको समयमा आवागमन बन्द गरेर कामलाई तीव्रता दिइएको हो ।
दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणजस्ता कार्यहरू अहिले तीव्र गतिमा भइरहेका छन् । पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार, यी कार्यलाई शीघ्र सम्पन्न गर्न रातको समय सदुपयोग भइरहेको छ ।
नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर सडक विस्तार भइरहेको छ । विशेष गरी जोखिमयुक्त मानिने दाउन्नेको १४ किलोमिटर क्षेत्रमा अहिले तीन लेनको सडक बनाइँदैछ ।
१७ अर्ब रुपैयाँ लागतमा निर्माणको जिम्मा पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले काम गरिरहेको छ। तर निर्धारित समयमै काम पूरा गर्न नसकेपछि तीनपटक म्याद थपिइसकेको छ । अहिले थपिएको अन्तिम म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ । यात्रु तथा सवारी चालकहरूलाई रातको समयमा वैकल्पिक व्यवस्था अपनाउन अनुरोध गरिएको छ ।
