अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार हुँदै गएको छ : कामु गभर्नर ढुङ्गाना


काठमाडौं । कायममुकाय गभर्नर निलम ढुङ्गानाले अर्थतन्त्रका सूचकहरूमा क्रमिक सुधार हुँदै गएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुद्रास्फीतिमा सुधार आएको, कुल विदेशी संचिति समेत पर्याप्त रहेको, निजी क्षेत्रको कर्जा विस्तार प्रभावकारी बन्दै गएको बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूमा गैर सम्पत्ति बढ्दै गए पनि बैंकहरु कर्जा प्रवाह बढेको बताउँदै उनले लगानीलाई वातावरणमैत्री बनाउन नियामकीय सहुलियत दिइएको बताए ।
उनले भुक्तानी प्रणालीको सुरक्षाका राष्ट्र बैंकले काम गरेको, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू प्रभावकारी रुपमा अघि बढाइएको बताए ।
उनले भने– ‘अन्तरदेशीय भुक्तानी प्रणालीलाई समेत राष्ट्र बैंकले अघि बढाएको छ । भुक्तानी प्रणालीलाई सुरक्षित गर्न नियामक निकायले बनाउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।’
डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरिक, वाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिएपनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरूको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताए ।
उनले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी संञ्चिति वचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको बताए ।
उनले भने–‘पछिल्लो समय मुद्रास्फीति कम हुँदै आएको छ । विदेशी मुद्रा सञ्चिति १४ महिना बढिलाई धान्ने स्थिति छ । अर्थतन्त्रमा देखिएका आन्तरिक, वाह्य कारणले कर्जा प्रवाह बढ्न सक्ने स्थिति नरहेपनि निराश हुनुपर्ने अवस्था छैन । हाल मुलुकमा १४।४ महिनाको आयातका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको छ ।’
उनले समस्या, चुनौतीलाई समाधान गर्न सकिने बताउनु भयो । राष्ट्र बैंकको कार्य क्षेत्रमा पर्ने ती समस्यालाई पहिचान गर्दै हल गरिने उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय साक्षरतालाई जोड दिएको बताउँदै मिश्रले राष्ट्र बैंकको पहल प्रभावकारी बन्दै गएको समेत बताए ।
राष्ट्र बैंकले वार्षिक उत्सवको अवसरमा अर्थविद् तथा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्रीलाई सम्मान समेत गरेको छ । कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षत्रीले सस्तो लोकप्रियताका लागि कतिपय वित्त नीतिहरू शासकहरूले लिने भएकाले त्यसलाई मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नियन्त्रण गर्न जरुरी रहेको बताए । उनले कर्जा तिर्नुपर्दैन भनेर प्रचार हुने गरेको भन्दै त्यसलाई राष्ट्र बैंकले चिर्न जरुरी रहेको बताए ।
उनले भने–‘संस्थागत रूपमै कर्जा नतिर्ने जुन अफवाह फैलाइन्छ, त्यसलाई चिर्नुपर्छ । खराब कर्जामा समेत कैफियत देखिने गरेको छ, त्यसमा समेत राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।’
बदलिँदो परिस्थितिमा ऐन कानूनसम्मत समयमै राष्ट्र बैंकले आफ्नो कार्यसम्पादन डिजिटल प्रणालीलाई अवलम्बन गर्न सक्नुपर्छ । मुलुक सम्पत्ति शुद्धिकरणको मामिलामा खैरो सूचिमा परेकाले कार्य योजना बनाएर बाहिर निस्कन राष्ट्र बैंकलले पहल गर्नुपर्ने उनको भनाई छ ।
सुनको बढी कारोबार गर्ने देश भारत रहेकाले नेपाल हुँदै भारत तस्करी हुने खतरा रहेकाले राष्ट्र बैंक चनाखो हुनुपर्ने उनले बताए । व्यवहारिक नीतिमार्फत लगानी बढाएर मुलुकभित्र रोजगारी सिर्जना गर्नुपर्ने क्षत्रीले बताए । कार्यक्रममा नयाँ गभर्नर नियुक्ति पेचिलो बनेको र स्वायत्ततामाथि आँच आउने काम भएको भन्दै राष्ट्र बैंकका कर्मचारी युनियनका प्रतिनिधिहरूले छिटो गभर्नर नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।
