रियललाई ३-२ ले हराउँदै बार्सिलोनाले जित्यो उपाधि


काठमाडौं । कोपा डेल रे कपको रोमाञ्चक फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै उपाधि कब्जा गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो । २-२ को बराबरीमा खेल अतिरिक्त समयमा पुगेपछि, खेल सकिन चार मिनेट बाँकी रहँदा जुल्स कुन्डेले निर्णायक गोल गर्दै बार्सिलोनालाई विजयी बनाए ।
खेलको सुरुआत बार्सिलोनाले आक्रामक बनाएको थियो । २८औँ मिनेटमा पेड्रीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, रियल म्याड्रिड पनि चुप लागिरहेन । केलिएन एम्बाप्पेले फ्रिकिकमार्फत गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसको सात मिनेटपछि एसियल थाउचेमेनीले थप गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
८४औँ मिनेटमा फेरान टोरेसले लामिन यमालको पासमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । त्यसपछि थपिएको समयमा कुन्डेको गोलले नतिजा टुंग्यायो ।
खेलको अन्तिम क्षणमा एक नाटकीय मोड आ यो। राफिन्हा बक्समा लडेपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । तर, भिएआर जाँचपछि उक्त निर्णय उल्टाइयो र अभिनय गरेको आरोपमा राफिन्हालाई पहेँलो कार्ड देखाइयो ।
